बैतडी – बैतडीमा ७५ हजार भेडा–बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइने भएको छ । प्रदेश सरकारको कार्यक्रम अन्तरगत जिल्लाका नौ वटै पालिकामा खोप कार्याक्रम संचालन गरिएको हो ।
शिवनाथ गाउँपालिकाबाहेकका अन्य सबै स्थानीय तहमा पिपिआरविरुद्धको खोप लगाउने कार्य भइहरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए ।


‘नौ स्थानीय तहमा भ्याक्सिन पठाएर प्राविधिकहरुले खोप लगाइरहेका छन‚’ उनले भने‚ ‘शिवनाथमा पशु प्राविधिक नहुँदा ढिला भएको छ । अर्को ठाउँबाट प्राविधिक खटाएर अभियान सुरु गर्छौं ।’
राजमार्ग नजिकका ठाउँ, व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने कार्य भइरहेको हो । प्रत्येक स्थानीय तहमा ७ हजार डोज खोप पठाइएको केन्द्रका प्रमुख पन्तले बताए ।
गत वर्ष खोप लगाएका भेडा–बाख्राहरुमा यो खोप नदिइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीले जनाएको छ ।
बाख्रामा पिपिआर रोग लागेमा ठूलो नोक्सानी हुने भएकाले त्यो रोगबाट बचाउनका लागि खोप अभियान सञ्चालन भइरहेको हो । जिल्लामा करिब १ लाख ३५ हजार भेडा–बाख्रा रहेका अनुमान छ ।



















