बैतडी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि आइतबार ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दशरथचन्द नगर कमिटि अध्यक्ष गोपाल बोहराले पार्टी परित्यागको घोषणा गरेका छन् ।
नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य समेत रहेका बोहराले पार्टीको साधारण सदस्य समेत नरहने गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टीको नेतृत्वमा सरकार भएको बेला समेत नागरिकमैत्री बजेट नआएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका हुन् ।


बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं घर भएका बोहरा २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार समेत रहेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बोहराले अब आफू स्वतन्त्र रुपमा नागरिकका समस्या उठान गरिरहने उल्लेख गरेका छन् ।
यसअघि बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै नेकपाकै प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका गरेका थिए । उनी डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत हुन ।


















