अत्तरिया – कोरोना संक्रमण फैलिन थालेसंगै कैलालीका सरकारी कार्यालयहरु बन्द हुन थालेका छन । कर्मचारीमै कोरोना देखिन थालेपछि कैलालीमा आधा दर्जन बढी सरकारी कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन ।
कर्मचारीमा कोरोना देखिएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवा बन्द गरेको छ । मन्त्रालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना देखिएपछि माघ ९ गते देखि नै अनिश्चित कालका लागि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको हो ।

१५ जना कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय आईतबार देखि नै बन्द गरिएको छ ।

जिल्लामा बिभिन्न पालिकाहरुले पनि कर्मचारीमा कोरोना देखिएको भन्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन । हाल कैलालीमा १३ मध्ये ४ पालिकाले अत्यावश्क बाहेकका सेवा बन्द गरेका छन ।
कर्मचारीमा कोरोना देखिएपछि धनगढी उपमहानगरपालिले माघ १२ देखि एक साताका लागि सेवा बन्द गरेको जनाएको छ ।
यस्तै गौरीगंगा नगरपालिकाले पनि माघ १२ देखि नै अनिश्चित कालका लागि सेवा बन्द गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले नगरपालिकाका कर्मचारीमा कोरोना देखिएकाले अर्को सूचना जारी नभए सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए ।
यस्तै जोशीपुर गाउँपालिकाले पनि माघ ११ गते देखि १ साताका लागि सेवा बन्द गरिसकेको छ । यता गोदावरी नगरपालिकाले भने माघ ९ गते देखि नै सेवा बन्द गरिसकेको छ । नगरपालिकाका १५ जना कर्मचारीका कोरोना देखिएपछि माघ ९ देखि १५ गते सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो ।
सम्बन्धित समाचार : कैलालीका पालिकाहरुमा कोरोना ‘अट्याक’


















