खाेज्नुहाेस

सयौं संक्रमित बोक्ने एम्बुलेन्स चालक, खान समेत फुर्सद छैन

Image

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गर्छन् । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर फैलिएका बेला उनी सीमानाकाबाट दैनिक सङ्क्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पु-याउने गर्छन् । यसरी सङ्क्रमित बोक्ने कडायत एक्लो एम्बुलेन्स चालक हुन् ।

कठायत गत साउनदेखि भीमदत्त नगरपालिकामा ज्यालादारीमा एम्बुलेन्स चालकका रुपमा कार्यरत छन् । उनको ड्युटी भनेकै सङ्क्रमितलाई अस्पताल पु-याउने हो । ‘हरेक दिन बिहान ६ देखि बेलुकी ८ बजेसम्म एम्बुलेन्स हाँकेर गड्डाचौकी नाका पुग्छु’, कठायतले भने, ‘त्यहाँ भारतबाट आउने यात्रुको कोरोना परीक्षण गरिन्छ, सङ्क्रमित देखिएमा उनीहरुलाई महाकाली अस्पताल पु-याउँछु ।’

attariya hospital

सरकारले कोरोना कहरमा स्वास्थ्यकर्मीसँगै एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सेना र सरसफाइकर्मीलाई कोरोनाको अग्रपङ्क्तिमा खटिने कर्मचारीको सूचीमा राखेको छ ।

भीमदत्त नगरपालिकाको एम्बुलेन्स मार्फत् दैनिक ४० देखि ११० जनासम्म सङ्क्रमित नाकाबाट अस्पताल पु-याएको कठायतसित तथ्याङ्क छ । ‘नाकामा कोरोना परीक्षण गरिन्छ, सङ्क्रमित देखिए पनि सितिमिति अस्पताल जान आनाकानी गर्छन’, कठायतले भने, ‘सङ्क्रमितको अवस्था हेरेर वडा कार्यालयको सिफारिसमा होम आइसोलेसनका लागि घरमै छाड्ने गरिएको छ ।’ दिनभरि एम्बुलेन्समा सङ्क्रमित बोक्ने गर्नुभएका उनी राति घरमा भने छुट्टै कोठामा बस्ने गरेको बताउछन् । ‘परिवारका सदस्यहरुको पनि ख्याल गर्नैप-यो’, उनले भने, ‘महामारीमा सङ्क्रमितलाई अस्पताल पु-याउनु सेवा सम्झेर काम गर्ने गरेको छु ।’

navjiwan hospital

कठायतलाई घर गएर खाना खाने फुर्सदसमेत हुँदैन । त्यसले उनले कोरोना अस्पतालमै खाना खान्छन् । कोरोना जोखिमका बेला काम गर्ने चालकलाई भत्ता दिएकोबारे उनलाई केही पनि थाहा छैन । उनले भने, ‘महामारीमा अग्रपङ्क्तिमा खटिने एम्बुलेन्स चालकलाई त जोखिम भत्ता दिनैपर्ने हो ।’ भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र जोशी नगरपालिकाले गड्डाचौकीमा कोरोना परीक्षण, खोप अभियान र सङ्क्रमितलाई अस्पताल लैजाने कार्यमा सक्रिय भएर लागेको बताए । ‘त्यहाँ अस्थायी होल्डिङ सेन्टरमा भारतबाट आउनेको नियमित स्वास्थ्य परीक्षण हुन्छ’, उनले भने, ‘सङ्क्रमितलाई तत्कालै महाकाली अस्पताल पु-याइन्छ ।’

कोरोनाको पहिलो र दोस्रो लहरमा सङ्क्रमित बोक्ने तथा शव व्यवस्थापनमा खटिएका महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक विष्ट आफू दुई पटक सङ्क्रमित हुँदा पनि ड्यिुटीमै सक्रिय रहेका थिए । ‘कोरोनाबाट मृत्यु भएका झण्डै ८० सङ्क्रमितको शव महाकाली घाटसम्म पु-याए’, विगत सम्झिँदै विष्टले भने, ‘सुरुमा पिपिइ सेट लगाएर एम्बुलेन्स चलाए, गर्मी खप्न गाह्रो भएपछि त्यो पनि फुकाले ।’ दोस्रो लहरसम्म महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक र रणबहादुर विष्ट रातदिन सङ्क्रमित बोक्नेदेखि शव घाटसम्म पु-याउन सक्रिय रहेका थिए ।

‘अहिले नगरपालिकाको एम्बुलेन्सले सङ्क्रमित अस्पतालसम्म पु-याउने काम गरिरहेको छ ।’ विष्टले भने, ‘अहिले हामी सङ्क्रमितलाई वडाको सिफारिसका आधारमा घरसम्म छाड्न जाने क्रममा फाट्टफुट्टरुपमा खटिएका छौँ ।’

दोस्रो लहरसम्म सङ्क्रमितलाई उपचारका लागि नेपालगञ्ज र काठमाडौँसम्म लिएर गएको उनले बताए । ‘डराउँदै सङ्क्रमित बोक्नुपर्ने परिस्थितिको पनि सामना गरियो’, विष्टले भने, ‘प्रतिकूल अवस्थामा पनि घरपरिवार नभनी काम गरियो ।’

रासस