खाेज्नुहाेस

अत्तरियामा नमूना कृषि बजार बनाइने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियामा रहेको कृषि उपज थोक बजारलाई नमूना बजार बनाइने भएको छ । संघिय सरकार मातहत रहेको यस बजारलाई देशभरकै पहिलो कृषि नमूना बजार बनाइने भएको हो ।

देशभरमा संघिय सरकार मातहतमा १० वटा कृषि उपज थोक बजार रहेकोमा सुदूरपश्चिमलाई लक्षित गरी स्थापना गरि बनाइएको यस बजारलाई नमूना बजारको रुपमा अगाडी बढाउने प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।

attariya hospital

कृषि विभागका कृषि अर्थ विज्ञ डा. महादेव प्रसाद पौडेलले अत्तरियाको कृषि उपज थोक बजारलाई नमूना बजार बनाउनका लागि सर्भे भइसकेकाले बताए । बिहिबार अत्तरियामा कृषि उपज थोक बजारको नयाँ कार्यसमितिलाई सम्बोधन गर्दै उनले नमूना बजार बनाउन नयाँ कार्यसमितिमा जिम्मेवारी थपिएको बताए ।

‘यसलाई नमूना बजारका रुपमा स्थापना गर्नका लागि यहाँहरुको योगदान ठूलो रहने छ’ उनले भने ‘यो बजारका लागि नन्दराज भट्टको एकल प्रयासले यहाँ सम्म पुगेको छ भन्दा पनि हुन्छ ।’

उनले बजारलाई नमुना बनाउनको लागि ठूला–ठूला पुर्वाधार निर्माण गर्न आवश्यक पर्ने भएकाले यो काम बजार व्यवस्थापन समितिले मात्रै नसक्ने भएकाले यसका लागि सबै तहका सरकारको भूमिका उतिकै आवश्यक रहेको बताए । उनले बजारलाई नमूना बनाउनको लागि व्यवस्थापनको पनि ठूलो भूमिका हुने बताए । बजारलाई अझै व्यवस्थित बनाउनको लागि लेखाको सही व्यवस्थापन, बजार मूल्यलाई वेबसाइटमा राख्ने लगायतका काम गर्न आवश्यक रहेको कृषि अर्थ विज्ञ डा.पौडेलले बताए ।

‘नेपालमा यस्तै बजार १० ठाउँमा छन । संघिय सरकार मातहत रहेका यी १० बजार मध्ये अत्तरियाको बजारलाई संघिय सरकारले प्राथमिकतामा राखेको छ’ उनले भने ‘यसलाई अहिले पनि धेरै निकाय र सरकाबाट सहयोग भएको छ । आगामी दिनमा पनि बजार विकासका लागि सबैको सहयोग आवश्यक छ ।’ उनले अत्तरियाको थोक बजारले प्रदेश लगायत देशभर र भारतमा पनि व्यापार गर्ने भएकाले यसलाई संघिय सरकार मातहतमा राखिएको बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख खगेन्द्र राज शर्माले कृषि उपज थोक बजार संघिय सरकार मातहत भएपनि यसको विकासका लागि तिन तहकै सरकारले लाग्नुपर्ने बताए । ‘यो सबैको सम्पती हो । यसलाई सामुहिक रुपमा लिएर देशकै नमुना बजार बनाउन सकिन्छ’ उनले भने ‘यस क्षेत्रमा उत्पादन भएका कृषि उपज खपत गर्न बजारले ठूलो भुमिका खेल्न सक्छ ।’ उनले सरकार, किसान, व्यापारी मिलेर यसको विकासमा लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले अत्तरियाको कृषि बजार प्रदेशकै बजार भएपनि यसको विकासका लागि नगरपालिकाले प्राथमिकता दिएको बताए । उनले यस बजारका लागि कोल्ड स्टोरको आवश्यकता महशुस गरेर नगरपालिकाले पनि सहयोग गरेको भएपनि यो बन्न नसक्नु दुःखद भएको बताए ।

‘हामीले कोल्डस्टोर बनाउन सके किसानले कृषि उपजको उचित मुल्य पाउन सक्छन’ उनले भने ‘कोल्ड स्टोर निर्माणमा लागि टेण्डर प्रक्रियामा जाँदा न्यूनतम बोली लगाउनेलाई ठेक्का लगाउनु पर्ने भएकाले राम्रो ठेकेदार नपाउँदा कोल्ड स्टोर बन्न सकेन । अहिले कोल्ड स्टोर बनेको भए अर्को कोल्ड स्टोर बनाउन आफूले थप एक डेढ करोड छुट्याउने थियौ । तर, प्रक्रियामा जाँदा पहिलेको काम हुन सकेन । बजेट फ्रिज गयो ।’

उनले यस क्षेत्रमा उत्पादन भएका कृषि उपज बिक्रीका लागि चुनौती भएकाले यसका लागि कृषि बजारको महत्वपुर्ण भूमिका खेल्न आवश्यक रहेको बताए । उनले बजारको सही व्यवस्थापनका लागि नयाँ नेतृत्वको अगाडी चुनौती भएपनि यसलाई अवसरका रुपमा लिनुपर्ने बताए ।

नयाँ कार्यसमितिका अध्यक्ष नन्दलाल भट्टले सामान्य तरकारी किनवेच गर्ने क्षेत्रबाट सुरु भएको बजार अहिले संघिय सरकार मातहतको बजार हुनुमा आफूले गर्वको महशुस गर्ने गरेको बताए । उनले आफू स्थापना कालदेखि नै यसको अध्यक्ष भएर काम गरेर बजारको विकासमा खटिएको बताए ।

navjiwan hospital

‘सुुरुमा यो हाटबजार थियो । त्यसपछि यो कृषि बजार भयो । त्यसपछि हामीले यसलाई व्यापक बनाउन २०६१ मा यसलाई क्षेत्रिय स्तरको बजार बनाउन क्षेत्रिय कृषि उपज थोक बजार नामाकरण गर्यौ । त्यसपछि यसमा राष्ट्रिय स्तरमा बिरोध भएपछि २०७२ सालमा कृषि उपज थोक बजार नामाकरण हुन गएको हो’ उनले भने ‘२४ बर्ष म यसको अध्यक्ष भएको छु । मैले यस क्षेत्रका किसानका समस्या, कृषि व्यपारीका समस्या, भारतीय व्यापारीको समस्या समाधान गर्न हामी सफल भएका छौं । भारतीले व्यापारीले नेपाली बजारमा आएर आफ्नै बस्तु बिक्री गर्ने गरेका थिए । हामीले त्यो सिस्टमलाई तोड्दै नेपाली किसान र व्यापारीलाई फाइदा हुने गरी काम गरिरहेका छौ ।’

उनले आगामी दिनमा किसानको घर–घर सम्म पुग्नका लागि कृषि उपज थोक बजारलाई पालिका देखि वडा स्तरसम्म बिस्तार गर्ने योजना बनाएको बताए । ‘हामीले अत्तरिया क्षेत्रमा ठूलो संरचना निर्माण गर्न सफल भएका छौ’ उनले भने ‘सबैको सहयोगमा हामी यहाँसम्म पुगेका छौ । आगामी दिनमा यसलाई अझै उचाइमा पुगाउन लाग्ने छौ ।’

उनले बजारलाई नमूना बनाउन २ बर्ष अगाडी नै कृषि महाशाखामा प्रस्ताव पेश गरिएको बताए । उनले कोरोना महामारीका कारण नमूना बजार बनाउने काममा ढिलाई भएपनि आगामी दिनमा यो योजनालाई तिब्रता दिइने बताए ।

‘नमूना बजारका लागि एसी सिष्टममा राखेर माछामासु बिक्री गर्नुपर्ने हुन्छ । गुणस्तरमा बिशेष ध्यान दिनुपर्छ । अर्गानिक तरकारी, फलफुलमा जोड दिनुपर्छ’ उनले भने ‘नमूना बजारमा बिशेष गरेर स्वच्छ, सफा तरकारी, फलफुल र माछामासु बिक्री गर्ने व्यवस्था भएको हुनुपर्छ ।’

उनले अत्तरियाको कृषि उपज थोक बजार देशभरमै राम्रो व्यवस्थापन भएको बजारका रुपमा चिनिएको बताए । ‘यो बजार संघिय सरकार मातहत भएको भन्दै स्थानीय, प्रदेश सरकारले किन सहयोग गर्ने भन्ने सोच थियो’ उनले भने ‘अहिले यो सोचमा परिवर्तन हुँदै गएको छ । त्यसैले बजारलाई नमूना बनाउन सबैक्षेत्रबाट सहयोग हुने अपेक्षा लिएका छौ ।’

कृषि उपज थोक बजारमा हाल ३० ओटा कृषि थोक पसल र ५ ओटा खुद्रा कृषि पसल रहेका छन ।

बजारबाट भारत संगै नेपालका कैलाली, कन्चनपुर, डडेल्धुरा, बैतडी, डोटी लगायतका क्षेत्रबाट तरकारी आउँने र केन्द्रबाट स्थानीय बजार संगै काठमाण्डौ लगायत मौसम अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाईने गरिएको छ ।

नयाँ व्यवस्थापन समिति चयन

कृषि उपज थोक बजारलाई थप व्यवस्थित बनाउन नयाँ निर्देशिका अनुसार व्यवस्थापन समिति चयन गरिएको छ । पहिलो पटक कैलालीका १३ वटै स्थानीय तह र कृष्णपुर नगरपालिकाका किसान र कृषि व्यापारीको सहभागितामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको अध्यक्षमा पुनः नन्दलाल भट्ट निर्विरोध चयन भएका छन । भट्ट स्थापना कालदेखि समितिको अध्यक्ष रहेका छन । भट्ट कृषक प्रतिनिधिबाट अध्यक्षमा निर्वाचित भएका हुन ।

त्यसै गरि समितिको सदस्यमा व्यवसायीक तर्फबाट हरिदत्त भट्ट, तेजराज पनेरु, अमर सिह महरा, कृषकको तर्फबाट डिल्ली राज जोशी र महिला सदस्य मन्तोरा राना चयन भएका छन ।

निर्वाचित पदाधिकारीलाई बिहिबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाण पत्र गोदावरी नगरपालिकाका नगरप्रमुख साउँदले वितरण गरेका थिए ।

निर्वाचन अधिकृत छेदी प्रशाद यादवले समितिमा थप ४ जना पछि मनोनित गरिने बताए । उनले स्थानिय निकायका प्रतिनिधि १ जना, कृषि/पशु कार्यालय अधिकृत १ जना, जिल्ला समन्वय समितिबाट १ जना र बजार व्यवस्थापक सदस्य सचिव रहने व्यवस्था रहेको बताए ।