अत्तरिया – कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक राख्ने अभियानमा अपेक्षित रकम संकलन नभएको बताइएको छ । चोकमा शालिक राख्ने कामको कार्तिक १६ गते शुभारम्भ गरिएको भएपनि प्रतिवद्धता गरिए अनुसारको रकम संकलन हुन नसकेको हो ।
राजा महेन्द्र शाहको शालिक निर्माण अभियान समितिका सचिव दुर्गा कुमार पोखरेलले शालिक राख्ने अभियान संचालन गरेको भएपनि अपेक्षा अनुसारको रकम संकलन हुन नसकेको बताए ।

‘शालिक बनाउने घोषणा गर्दा धेरै जनाले सहयोग गर्ने आश्वासन दिएका थिए’ उनले भने ‘अहिले राप्रपा पार्टीकै नेताहरुले गरेको प्रतिवद्धता अनुसार पनि रकम उपलब्ध हुन सकेको छैन । यसमा मलाई अचम्म लागेको छ ।’
उनले चोकमा राजा महेन्द्रको शालिक राख्ने काम सबैको साझा भएकाले यसमा सबैपक्षबाट सहयोग हुने अपेक्षा लिएको बताए । उनले पुनः आर्थिक अभियान सक्रियताका साथ संचालन गर्न लागिएकोले सबैलाई सहयोग गर्न आग्रह गरे ।
‘चोकमा सडेगलेका सामाग्री राखिएका छन । यस्तो हुनु बिडम्बना हो’ उनले भने ‘चोकमा शालिक राखिएपछि चोकमा भएका अनावश्यक कुरा हटाउने छौ ।’ अत्तरिया चोकमा राजा महेन्द्रको शालिक राख्नको लागि स्थानीय हरी भट्टराइको अध्यक्षतामा साउन १६ गते ‘राजा महेन्द्र शाहको शालिक निर्माण अभियान समिति’ गठन गरिएको थियो ।

समितिका अध्यक्ष भट्टराइले भने रकम संकलनका लागि आफूहरु खटिन नसकेका कारण पनि अपेक्षित रकम संकलन हुन नसकेको बताए । उनले अहिले अत्तरिया क्षेत्रबाट मात्रै स्वःस्फुर्त रुपमा रकम संकलन गरिएको बताए ।
‘शालिक निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । अब आर्थिक संकलन गरेर शालिक ल्याउन काम बाँकी छ’ उनले भने ‘आर्थिक संकलन भइहाल्छ । हामीले अहिले खट्न नसकेर मात्रै हो । अहिले सम्म अत्तरिया क्षेत्रबाट डेढ दुई लाख संकलन भएको छ ।’
उनले शालिक निर्माण लगायत चोकको डेकोरेसन गर्नका लागि ३४ लाखको स्टमेट बनाइएको भएपनि शालिक राख्ने र फाउण्डेशन बनाउनका लागि १२ लाख जति खर्च लाग्ने बताए ।
‘अरु खर्च राज्यबाट सहयोग मागेपनि शालिक राख्नका लागि आवश्यक पर्ने १२ लाख जती रकम भने जनताबाट उठाउने योजना बनाएका छौ’ उनले भने ‘आर्थिक संकलन हुनेमा हामी ढुक्क छौ । सहयोगका लागि सबैसंग आग्रह पनि गर्दछु ।’
शालिकको भने भक्तपुरमा निर्माणको काम जारी रहेको छ । शालिक फागुन ७ गते अनावरण गर्ने लक्ष्य राखिएको छ । मृर्ति पञ्चधातुबाट निर्माण गरिने जनाइएको छ । २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने आन्दोलनका क्रममा चोकमा राखिएको राजा महेन्द्रको शालिक ढालिएको थियो ।
पछिल्लो समय अत्तरिया चोक कुरुप भएको भन्ने आवाज उठिरहेका भएपनि राज्यस्तरबाट भने खासै पहल हुन सकेको छैन । नगरपालिकाले चोकको बिचमा निजी विज्ञापन राख्ने उद्देश्यको बिल बोर्ड राखिएपछि भने झन चर्को बिरोध हुँदै आएको छ ।
स्थानीय युवा पुस्कर शर्माले हामीले आफ्नो इतिहासलाई बुझ्न नसक्दा राजा महेन्द्रको शालीक रहेको अत्तरिया चोक कुरुप बनेको बताए । उनले चोक सबैको साझा धरोहर भएकाले यसलाई संरक्षणका लागि सबै लाग्नुपर्ने बताए ।

















