खाेज्नुहाेस

अन्तिम समयमा महोत्सव स्थगित हुँदा १५ लाखको लगानी खेर

Image

अत्तरिया – कोरोनाको प्रभाव यस बर्ष पनि मेला महोत्सवमा परेको छ । विगत २ बर्ष देखि कोरोनाका कारण प्रभावित हुँदै आएका मेला महोत्सव यस बर्ष पनि प्रभावित भएका हुन ।

कोरोनाका कारण यस बर्ष घोषणा भएर तयारी पुरा भएका कार्यक्रम पनि स्थगित हुन पुगेका छन । अत्तरिया उद्योग बाणिज्य संघले आजबाट सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना गर्ने भनेर सम्पुर्ण तयारी पुरा गरेको २४ घण्टा अगाडी मात्रै सम्पुर्ण कार्यक्रम स्थगित गर्नु परेको छ भने गोदावरीधाम विकास समितिले माघ १ गते देखि आयोजना गर्ने भनेको महाकुम्भ मेला पनि कोरोनाकै कारण ५ दिन अगाडी स्थगित भएको छ ।

attariya hospital

सोमबार अत्तरिया उद्योग बाणिज्य संघले एक प्रेश विज्ञप्ती जारी गर्दै कोरोनाको संक्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाइएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाद्धारा जारी विज्ञप्तीमा महोत्सवको तयारी पुरा भइसकेको भएपनि महोत्सव स्थगित गरिएको उल्लेख छ ।

‘पूर्ण तयार हुँदा हुँदै पनि अचानक देशमा बृद्धि भएको कोभिड –१९ को तेस्रो लहर ओमिक्रोन भाइरस तिब्र रुपमा फैलिन गएको देशभरीका स्वास्थ्य आँकडाबाट स्पष्ट हुन गएको छ’ विज्ञप्तीमा अगाडी भनिएको छ ‘यसरी पूर्ण तयारी भइसकेको अवस्था एकातिर छ भने अर्कोतिर ओमिक्रोनको बढ्दो संक्रमणको लहर चलिरहदा मानविय स्वास्थ्य भन्दा आर्थिक नोक्सानी ठूलो हुन सक्दैन भन्ने उच्च मनोवलका साथ देशभरीका मेला महोत्सव, सरकारी निर्णय सम्पूण बस्तू स्थितिलाई नजर अन्दाज गरी आफ्नो तर्फबाट संक्रमण रोकथामका लागि यस संघको आयोजनामा हुने भनिएको सुदूरपश्चिम महोत्सव २०७८ स्थगित भएको व्यहोरा जानकारीका लागि हार्दिक अनुरोध गरिन्छ ।’

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष देवकोटाले कोरोना महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस भनेर स्थगित गरिएको बताए । उनले महोत्सवका लागि सबै तयारी पुरा भएको भएपनि स्वास्थ्यलाई ध्यानमा राखेर स्थगित गरिएको बताए । हाल महोत्सवका लागि तयार गरिएका संरचना पनि कार्यसमितिको बैठकबाट निर्णय गरेर हटाइने जनाइएको छ । महोत्सवका लागि आयोजकले महोत्सव स्थल घेरबार गर्नका साथै स्वागत गेट, मञ्च, स्टल निर्माण गरिसकेको थियो भने बिभिन्न रमाइलो मेलाका सेट पनि जडान गरिएका थिए । अत्तरिया अद्योग बाणिज्य संघले महोत्सवको लागि करिब १५ लाख लगानी गरिएको जनाएको छ । महोत्सव स्थागित हुँदा उक्त लगानी खेर गएको संघले जनाएको छ ।

navjiwan hospital

यसैबिच २०७२ सालदेखि बार्षिक रुपमा औपचारीक कार्यक्रम गरी आयोजना गर्दै आएको कुम्भ मेलाका कार्यक्रम पनि कोरोना महामारीका कारण स्थगित गरिएको हो । समितिले २०७२ सालमा महाकुम्भ मेला आयोजना गरेपछि त्यसपछिका बर्षमा माघ १ गते कुम्भमेला आयोजना गर्दै आएको थियो भने यस बर्ष महाकुम्भ मेला आयोजना भएको ६ बर्ष पुगेकाले अर्धकुम्भ मेला आयोजना गरिने जनाइएको थियो । गोदावरीधाम विकास समितिले सोमबार एक प्रेश विज्ञप्ती जारी गर्दै भौतिक रुपमा गरिने सम्पुर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

‘पवित्र देवभूमिको प्रवेशद्धार पश्चिम नेपालमा स्थित प्रसिद्ध तीर्थस्थल गोदावरीधाम कैलालीमा यस बर्ष २०७८ माघ महिनामा आयोजना हुने भनिएको गोदावरी अर्ध कुम्भ मेलाका भौतिक रुपमा गरिने सम्पुर्ण औपचारिक कार्यक्रमहरु कोरोना महामारीका कारण सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासनको परामर्शमा स्थगित गरेका छौ’ गोदावरीधाम विकास समितिद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ‘तर, कुम्भमेलाको परम्परालाई निरन्तरता दिन गरिने गंगा पुजन, कलश पुजन, पंचाङ्ग पुराण पारायण, लक्ष्यहवन आदि धार्मिक अनुष्ठानहरु सांकेतिक रुपमा सरकारले तोकेका मापदण्डहरुको पालना गर्दै सम्पादन गर्नेछन ।’

गोदावरीधाम विकास समितिका अध्यक्ष पद्मराज जोशीद्धारा जारी विज्ञप्तीमा धार्मिक गतिविधिहरु अनलाइन विधिबाट प्रशारण गरिने जनाइएको छ ।

पछिल्लो केहीदिन यता भारतमा कोरोना संक्रमण दर एक्कासी बढ्द नेपालमा पनि संक्रमित थपिने क्रम बढ्दै गएको छ । सोही क्रममा सुदूरपश्चिममा पनि भारतबाट मजदुुरी गरेर नेपाल फर्किनेको संख्या बढेपछि कोरोना संक्रमितको संख्या पनि प्रदेशमा थपिदै गएको छ । जसले गर्दा यो क्षेत्रमा पनि समुदाय स्थरमै कोरोना फैलन सक्ने सम्भावना बढेकाले मेला, महोत्सवका कार्यक्रममा स्थगित गरिएको आयोजनकले जनाएका छन । यसअघि आइतबार मात्रै सीसीएससीको बैठकले मेला महोत्सवमा रोक लगाउन सरकारलाई सिफारिस गरिसकेको थियो भने सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जना भन्दा बढीको भेला रोक्ने निर्णय गरेको छ ।