अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मालाखेती अस्पतालमा जडान गरिएको डेण्टल चेयर प्रयोग बिहिन बनेको छ । डेढ बर्ष अगाडी जडान गरिएको उक्त मेसिन आवश्यक जनशक्तिको अभावमा प्रयोगबिहिन बनेको हो ।
निक साइमन इन्स्टिच्युट (एनएसआइ) मार्फत अस्पताललाई हस्तान्तरण गरिएको उक्त चेयर संचालनका लागि नगरपालिकाले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न नसक्दा अहिले प्रयोग बिहिन बनेको छ ।

अस्पतालका जनस्वास्थ्य निरिक्षक महेश दत्त पाण्डेले एनएसआइले अस्पताललाई बार्षिक रुपमा ४ लाख दिने गरेकोमा गत आर्थिक बर्ष भने अस्पतालकै आग्रहमा उक्त रकमबाट डेण्टल चेयर खरिद गरेर दिएको बताए ।
उनले दाँतका बिरामीलाई लक्षित गरि मेसिन ल्याएको भएपनि अस्पतालमा सम्बन्धित क्षेत्रका लागि जनशक्ति नहुँदा मेसिन प्रयोगमा ल्याउन नसकिएको बताए । डेण्टल चेयर संचालनका लागि दन्त चिकित्सक वा सिडिएस पढेको जनशक्ति आवश्यक पर्ने निरिक्षक पाण्डेले बताए ।
गोदावरी नगरपालिका मातहत रहेको यो अस्पतालमा दरबन्दीमा दन्त चिकित्सक छैनन् भने नगरपालिका मार्फत पनि दन्त चिकित्सक राख्ने बिषयमा चासो नदिदा डेण्टल चेयर थन्किएको हो ।


अस्पतालमा दाँत सम्बन्धि समस्या भएका बिरामी आउने गरेका भएपनि बढी समस्या भएका बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । अत्तरिया क्षेत्रमा निजी क्षेत्रबाट करिब आधा दर्जन दाँतका अस्पताल संचालनमा रहेपनि यस क्षेत्रकै ठूलो सरकारी अस्पताल मालाखेतीमा भने अहिले सम्म दाँतको सेवा सुरु हुन सकेको छैन ।
जसले गर्दा समान्य समस्या हुँदा पनि महंगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ । नवौं तहको मेसु र आठौं तहका २ जनाको दरबन्दी खालि रहेको अस्पताल हाल निमित्तको भरमा चलिरहेको छ । आठौं तहमा २ जना डाक्टरको नियुक्ति भएपनि हाल उनीहरु पढ्नका लागि बाहिर गएका छन ।
हाल अस्पतालमा २ जना छात्रबृत्तिका एमबिबिएस डाक्टरले सेवा दिइरहेका छन । अस्पतालमा हाल २४ सैँ घण्टा इमरजेन्सी सेवा, २४ सैँ घण्टा संस्थागत सुत्केरी सेवा, एक्सरे, भिडियो एक्सरे सेवा भने संचालनमा रहेको छ ।
यसैबिच अस्पतालले एमडिजिपी डाक्टर ल्याउनको लागि प्रक्रिया अगाडी बढाएको जनाएको छ । एमडिजिपी डिग्री लिएका डाक्टरलाई मेडिसिन र सर्जरी दुबै विषयको ज्ञान हुने र यस्ता डाक्टरमार्फत सबै सेवा संचालन गर्न सकिने भएकाले नगरपालिकाले प्रक्रिया अगाडी बढाएको हो ।
एमडिजिपी डाक्टरका लागि नगरपालिका मार्फत स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिएको अस्पतालका जनस्वास्थ्य निरिक्षक पाण्डेले बताए । उनले पाटन अस्पतालबाट छात्रवृत्तिमा एमडिजिपी उपाधि लिएका डाक्टरले मालाखेती अस्पतालमा आउने इच्छा देखाएकाले त्यसका लागि प्रक्रिया अगाडी बढाएको बताए ।
उनले एमडिजिपी डाक्टर ल्याउन सके ओटी सेवा सहित अन्य अस्पतालको व्यपस्थापकिय क्षेत्रमा पनि सुधार हुने बताए । एमडि गरेका विशेषज्ञ डाक्टरले डिएम वा एमसिएच गरेका डाक्टरलाई रिफर गर्छन ।
डाक्टरी विषयमा गरिने अर्को डिग्री एमडिजिपी हो । यस्ता विषय पढेका डाक्टरलाई पारिवारिक फिजिसियन पनि भन्ने गरिन्छ । प्रायः अस्पतालका इमर्जेन्सी विभागमा एमडिजिपी हुने गर्छन् । यो स्नातकोत्तर डिग्री हो ।
















