कञ्चनपुर – कञ्चनपुरको हल्दुखालमा सुदूरपश्चिम क्षेत्रको मौलिक संस्कृतिक पर्व भुवा भस्सो खेलिने भएको छ ।
शिद्ध सामुदायिक समिति हल्दुखालको आयोजनामा आइतबार जनसेवा मावि हल्दुखालमा भुवा भस्सो खेलिन लागिएको हो ।


भुवा भस्सोको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष तथा देउडा गायक लक्ष्मण अधिकारीले जानकारी दिएका छन ।
कार्यक्रममा सुदूरपश्चिमका वरिष्ट गायक नरेन्द्रराज रेग्मी, देउडा गायक लालबहादुर धामी, गायिका संगीता शाह, गायक तथा र्यापर अराज केशव र गायक लक्ष्मण अधिकारीको विशेष प्रस्तुति रहनेछ । साथै कार्यक्रममा महिलाको देउडा खेल समेत हुने अध्यक्ष अधिकारीले बताए ।
द्वापरयुगदेखि महाभारत युद्धपश्चात असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा पाँच पाण्डवले यो पर्व चलाएको मानिन्छ । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार बझाङ, बाजुरा र अछाममा सार्वजनिक विदा समेत दिएको छ । यो पर्व खासगरी सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइन्छ ।
ढाल, तरबार समातेर बाजाको चाल अनुसार चाल मिलाउँदै खेलिने यो मौलिक पर्व पुष महिनाको औँसीदेखि पूर्णिमासम्म वा माघ मसान्तसम्म इच्छा अनुसार खेल्न सकिन्छ ।

















