खाेज्नुहाेस

अत्तरियामा महोत्सव स्थलका लागि सधै सास्ती

Image

अत्तरिया – कैलालीको अत्तरियामा खुला स्थानको अभाव हुँदा महोत्सव संचालन गर्न सधै सास्ती हुने गरेको छ । प्रदेशको राजधानी घोषणा भएको यस क्षेत्रमा कार्यक्रम, महोत्सव गर्न खुला ठाउँको अभाव छ ।

खुला ठाउँको अभावमा यस बर्ष पनि अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव संचालनका लागि स्थान तयार गर्न सास्ती खेप्नु परेको छ । संघले पुस २७ गते देखि सुदूरपश्चिम प्रदेशिक महोत्सव आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

attariya hospital

विगतका बर्षमा अत्तरियाको लामिताल परिसरमा महोत्सव गर्दै आएको संघले यस बर्ष अत्तरियाकै दुर्गा मन्दिर पछाडीको जग्गामा महोत्सव गर्ने जनाएको थियो । तर, सो क्षेत्रको जग्गा दलदल हुँदा महोत्सवको लागि आवश्यक सामाग्री ढुवानीमै समस्या भएपछि पुनः लामिताल परिसरमै महोत्सवको तयारी थालिएको छ ।

‘पहिले महोत्सव गरेको स्थान लामिताल परिसरमा पानी जमेपछि यस बर्ष दुर्गा मन्दिर पछाडीको भागमा महोत्सव गर्ने भनेका थियौ’ अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञ राज जोशीले भने ‘दुर्गा मन्दिर पछाडीको भाग पनि दलदल रहेछ । त्यहाँ महोत्सवका लागि आवश्यक उपकरण लैजाने गाडी धस्न लागे ।’ उनले विगतमा महोत्सव आयोजना गरेको लामिताल परिसरमा पानी जमेको भएपनि ताल देखि केही तल दक्षिण पट्टिकै ठाउँमा महोत्सव गर्ने तयारी गरिएको बताए ।

विगतमा महोत्सव आयोजना हुँदै गरेको लामिताल परिसर

यो स्थान नेपाली सेना र दुर्गालक्ष्मी सामुदायिक वनले आ– आफ्नै भएको दावी गर्दै आएका छन । महोत्सव गरेको पुरानो ठाउँमा केही खुला भाग र ताल संगै जोडिएको थियो । यो क्षेत्रमा सालका पुराना ठूला–ठूला रुख रहेका छन । रुख कै बिचमा महोत्सव आयोजना गरिने भएकाले जंगलमा महोत्सव आयोजना गरिएको भनेर टिप्पणी समेत हुँदै आएको छ ।

महोत्सवमा महोत्सव स्थलकै मुद्धा उठाइने

उद्योग बाणिज्य संघले महोत्सवमा मार्फत बर्षेनी यस क्षेत्रको विकासका लागि बिभिन्न माग उठाउँदै आएको छ । यस बर्ष भने उद्घाटन सत्रमा महोत्सव स्थलको मुद्धालाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ ।

navjiwan hospital

संघका महासचिव जोशीले अत्तरियामा महोत्सव गर्न सधै स्थानको लागि समस्या हुने गरेकाले स्थानको मागलाई मुख्य मुद्दा बनाउने तयारी गरेको बताए ।

‘यो पालिको महोत्सवको मुख्य एजेण्डा नै खुल्ला मैदानका लागि रहेको छ’ उनले भने ‘यसका लागि गोदावरी नगरपालिकाले लामिताल परिसरमै व्यवस्थित खुल्ला कार्यक्रम स्थान निर्माण गरिदिएको भए सहज हुन्थ्यो ।’

उनले लामिताल परिसरमा खुला कार्यक्रम स्थान निर्माण गरिए यसले तालको पर्यटकिय विकासमा पनि ठूलो मदत पुग्ने बताए । खुला कार्यक्रम स्थान निर्माण गरीए महोत्सव आयोजना गर्न पनि बर्षेनी जग्गा खोज्दै भौतारीनु नपर्ने उनले बताए ।

अत्तरियामा २०७२ सालदेखि महोत्सव हुँदै आएको छ । सुरुमा अत्तरियाको पुर्व रोड किनारा महोत्सव आयोजना गरिएको थियो । सडक किनारामा महोत्सव व्यवस्थापन गर्न असहज हुन थालेपछि त्यसपछि लामिताल परिसरमा महोत्सव आयोजना गरिदै आएको छ ।

यसअघि महोत्सव आयोजना गर्ने भनिएको दुर्गा मन्दिर पछाडीको क्षेत्र

महोत्सवको तयारी तिव्र

महोत्सव संचालन हुने मिति आउन १० दिन बाँकी रहदा उद्योग बाणिज्य संघले महोत्सव स्थलमा तयारी तिव्र पारेको छ । हाल नयाँ छनोट गरिएको महोत्सव स्थलमा जग्गा सम्याउने र घेरबार गर्ने काम चलिरहेको अत्तरिया उद्योग बाणिज्य संघका कार्यालय प्रमुख गम्भिर साउँदले बताए ।

उनले जग्गामा घेरबार गरेपछि स्टल निर्माण गर्ने काम सुरु गरिने बताए । महोत्सव स्थलमा उत्तर पट्टि मञ्च निर्माण गरिने जनाइएको छ । यस बर्ष पनि महोत्सवमा १ सय ५० स्टल राखिने जनाइएको छ ।

महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । कोरोना महामारीका कारण विगत २ बर्ष देखि भने अत्तरियामा महोत्सव आयोजना हुन सकेको थिएन ।