खाेज्नुहाेस

गोदावरी नगरपालिकाद्धारा आवेदकको सर्ट लिस्ट निकाल्नमै ६ महिना 

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले कर्मचारी माग गरेको ६ महिनामा पनि आवेदकहरुमद्येबाट कर्मचारी छनोट गर्न सकेको छैन । साउन १४ गते नगरपालिकाले ३५ जना कर्मचारी माग गरेको भएपनि अहिले सम्म आवेदन दिएकाहरु मध्येबाट आवश्यक कर्मचारी छनोट गर्न नसकेको हो ।

उक्त विज्ञापनका लागि नगरपालिकाले १५ दिन आवेदन दिने समय तोकेको थियो भने कर्मचारी छनोटका लागि नगरपालिकाले सुरुमा संक्षिप्त सूची (सर्ट लिस्ट) प्रकाशन गर्ने जनाएको थियो । उक्त पदका लागि १ हजार ३ सय ६९ जनाले आवेदन दिएका भएपनि ६ महिना वितिसक्दा पनि नगरपालिकाले सर्ट लिस्ट समेत निकाल्न सकेको छैन ।

attariya hospital

नगरपालिकाले माग गरेका कर्मचारीको पहिलो करार अवधि पुस मसान्त सम्म कायम गरिएकोमा सो अवधि सकिन लाग्दा पनि कर्मचारी छनोट नगरिदा आवेदक अन्योलमा परेका छन । सहायक कम्प्युटर अपरेटर पदमा आवेदन दिएका गोदावरी नगरपालिका – १ का लोग चयडाले आवेदन दिएपछि ४ पटक नगरपालिका गएको भएपनि छनोट प्रक्रिया सुरु नै नभएको भनेर फर्काएको बताए ।

‘कार्यालयमा बुझ्न जाँदा केही दिनमा हुन्छ । सम्पर्कमा बस्न मात्रै भन्छन । जति पटक गएपनि प्रक्रिया अगाडी नबढेको नगरपालिकाका कर्मचारीले बताउने गरेका छन’ उनले भने ‘कहिले कर्मचारी छनोट गरीन्छ । कुनै जानकारी छैन ।’

नगरपालिकाले आवेदकहरुमध्येबाट सुरुमा सर्ट लिस्ट निकाल्ने र त्यसपछि पद अनुसार प्रयोगात्मक परिक्षा र अन्तरवार्ता गर्ने जनाएको थियो । उता नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले कार्यालय प्रमुख नहुँदा कर्मचारी छनोट प्रक्रिया अगाडी बढ्न नसकेको बताएका छन ।

‘पुराना हाकिम जाँने समय भएकाले वहाँले यस काममा हात हाल्न चाहनु भएन’ उनले भने ‘कर्मचारी नियुक्तीमा धेरै प्रक्रिया पनि मिलाउन बाँकी थियो । अहिले नयाँ हाकिम आइसकेकाले कर्मचारी छनोटको काम अगाडी बढिसकेको छ ।’ उनले अब कर्मचारी छनोट गरिएपछि करार अवधि थपिने बताए ।

navjiwan hospital

तत्कालिन समयमा कर्मचारी मागका लागि निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले विज्ञापन आह्वानको सूचना प्रकाशित गरेका थिए । कर्मचारी छनोटका लागि तत्कालिन प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीकै अनुमतिमा विज्ञापन आह्वान गरिएको खत्रीले बताए । उनले पछि भने कर्मचारी छनोटको अनुमति नपाउँदा आफूले काम अगाडी बढाउन नसकेको बताए ।

केहि दिन अगाडी मात्रै नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका खेमराज बिष्टले भने कर्मचारी छनोट प्रक्रिया अगाडी बढिसकेकाले भोली नै आवदकको सर्ट लिस्ट निकालिने बताए । उनले आफू कार्यालय प्रमुख भएर आएपछि कर्मचारी छनोटको कामलाई प्राथमिकतामा राखेर अगाडी बढाएको बताए ।

नगरपालिकाले मागेका ३५ जना मध्ये ७ जना सहायक कम्युटर अपरेटरका लागि  ३ सय ९८ जना, कार्यालय सहयोगी ५ जनाका लागि ३ सय १४ जना, १ जना फार्मेसी सहायकका लागि १५ जना, १ जना रिसेप्सनिष्टका लागि ८५ जना , ५ जना ल्याब असिस्टेण्टका लागि १ सय ६८ जना , ५ जना अहेबका लागि १ सय ९३ जना, ७ जना अनमीका लागि १ सय ५४ जना, १ जना भ्याकु लोडर सहचालकका लागि १३ जना र ३ जना स्वीपरका लागि २९ जनाले आवेदन फाराम भरेका थिए ।

उक्त पदहरुका लागि २ सय देखि ५ सय सम्म आवेदन शुल्क तोकेको थियो । नगरपालिकाले छनोट गरेका कर्मचारीलाई मालाखेती अस्पताल, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा खटाउने कर्मचारी माग गरिएको सूचनामा उल्लेख गरेको छ ।

नगरपालिकाले साउन १४ गते प्रकाशन गरेको सूचना