अत्तरिया – सुदूरपश्चिममै पहिलो पटक कैलालीको अत्तरियामा फुल तथा बेलुनको डेकोरेसन तालिम सञ्चालन गरिएको छ । फुल तथा बेलुनबाट श्रृंगार गर्न सिकाउने उद्देश्यका साथ भिप्लभ ईभेन्ट प्लानिङ्ग एण्ड मेनेजमेन्टले तालीमको आयोजना गरेको हो ।
तालीमको विहिबार एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । अहिलेको समयमा विवाह तथा अन्य विभिन्न कार्यक्रमहरुका लागी श्रृंगारिक सजावट गर्ने व्यक्तिको माग बढीरहेकाले आफुले श्रृंगार गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ तालीमको आयोजना गरेको भिप्लभ ईभेन्ट प्लानिङ्ग एण्ड मेनेजमेन्टका सञ्चालक विनोद मल्ल (भिप्लभ) ले जानकारी दिए ।


तालीमले दक्ष जनशक्ति उत्पादन गरी श्रृंगारिक कार्यका लागी बाहिरबाट मानिस मगाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उनले विश्वास व्यक्त गरे । ‘हरेक कार्यक्रममा बेलुन र फुलकै सजावट रहेको छ तर हामीलाई त्यो सजावट गर्न आउदैन’ उनले भने ‘जन्मदिन, बैबाहिक बर्षगाठ लगायतका कार्यक्रमका लागि हामिले एक हजारको सामानमा सजावट गरेर ५ हजार तिर्नुपर्ने बाध्यता छ ।’ उनले तालीमका लागी आफुले पनि भारतबाट दक्ष प्रशिक्षक बोलाएको बताए ।
एक हप्तासम्म सञ्चालन हुने तालीममा करिब २ सय ५० जनालाई सहभागि गराइने उनले बताए । यो सँगै संस्कृति झल्काउने खालका पहिरनहरु र बेतबासका सामाग्री निर्माण तालिमको पनि आयोजना गर्ने तयारीमा रहेको उनले बताए । तालिमका उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारीको व्यवस्था समेत गरिएको उनले बताए ।
प्रशिक्षण लिनका लागि १० जनाको समुहमा सहभागी गराईने र जसका लागि प्रति सहभागि ५० रुपैयाँ मात्रै शुल्क तोकिएको उनले बताए ।
तालीमको उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघ कैलालीका पुर्व अध्यक्ष दिनेश भण्डारी, नवजिवन सहकारी संस्थाका कार्यसमिती सदस्य धन बहादुर शाह, रुवस होटलका सञ्चालक प्रकाश भट्ट, युवा व्यवसायी प्रमोद अधिकारी, युवा नेता तेज खडका लगायतको सहभागिता रहेको थियो ।

















