खाेज्नुहाेस

डोटीका तिन स्थानिय तहका केही वडामा अझै पुुगेन विद्युत सेवा

Image

डोटी – स्थानिय तह आएको ५ वर्ष पुरा हुनै लाग्दा पनि डोटीका केही स्थानिय तहहरुमा अहिले सम्म विद्युत सेवा पुग्न सकेको छैन ।

जिल्लाका ९ वटा स्थानिय तहहरु मध्ये ३ वटा स्थानिय तहका विभिन्न वडाहरुमा अहिलेसम्म विद्युत सेवा विस्तार हुन नसकेको हो ।
विकट क्षेत्रमा रहेका जिल्लाका बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिकाका विभिन्न वडाहरुमा हालसम्म पनि विद्युत सेवा पुग्न सकेको छैन ।

attariya hospital

विद्युत नभएका कारण यहाँका तीन स्थानीय तहका विभिन्न वडाहरु वर्षौदेखि अन्धकार भएका छन् । उक्त वडाहरुमा विद्युत् बिस्तारको कुरा त परै जाओस विद्युतका पोल समेत गाडिएका छैनन ।

विद्युत नहुँदा वडाको कामकाजमा पनि समस्या हुने गरेको कर्मचारीहरु बताउँछन् ।

जोरायल गाउँपालिका–५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत् नपुगेको वडाध्यक्ष ध्वजबहादुर देउवाले जानकारी दिए । उनले भएको विद्युत पनि दिउँसो ११ बजेबाट साँझ ५ बजेसम्म कटौती गरिने भएका कारण कार्यालयको कामकाज तथा अन्य काम गर्नमा निकै समस्या उत्पन्न हुने गरेको बताए ।

‘स्थानीय गड्सेरीगाढ खोलाबाट विद्युत् त निकालेका छौँ, तर उक्त विद्युत् दिउँसो कार्यालय समयमा काटिने भएका कारण समस्या हुने गरेको छ, राति बत्ती आएपछि मात्रै कार्यालयको काम गर्नुपर्ने हुन्छ’ उनले भने । विद्युत्ले पावर धान्न नसक्ने भएका कारण दिउँसोको समयमा विद्युत्लाईन कटौती गरी राति केही गाउँमा विद्युत् वितरण गरिँदै आएको गड्सेरीगाढ लघुजलविद्युत् आयोजनाका अध्यक्ष लीलाधर विष्टले बताए ।

navjiwan hospital

‘विद्युत्को उत्पादन क्षमता कमी छ, सबै गाउँमा विद्युत् वितरण गर्न सकिएको छैन,त्यसैले दिउँसो बत्ती काट्ने गरेका हौँ राष्ट्रिय प्रशारण लाइन विस्तार भएको छैन्’ उनले भने ।

त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिकामा भने अहिलेसम्म विद्युत् विस्तार भएको छैन । विद्युत् नहुँदा स्थानीयवासी राति सल्लाको झुरो तथा केहीले सोलार बत्ती प्रयोग गर्न थालेको बडीकेदार–५ कोला गाउँका स्थानीय टेकबहादुर कलेलले बताए ।

राष्ट्रिय विद्युत् प्रशारण लाइनको पहुँच नहुँदा बडीकेदार गाउँपालिकाले सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।

‘हामीसँग राष्ट्रिय विद्युत् प्रशारण लाइन पनि छैन, स्थानीय विद्युत् पनि उत्पादन गरिए पनि वितरण भएको छैन, सोलारकै भरमा सबै काम चलाउनुपर्ने बाध्यता छ’ उनले भने ।

उता बोटगटान फुड्सिल गाउँपालिकाको टुडागाढमा स्थानीय टुडागाढ विद्युत् पावरहाउस भए पनि सबै वडामा विद्युत् विस्तार गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए ।

‘टुडागाढ खोलाको विद्युत् सबै वडामा पु–याउन सकिएको छैन, विद्युत् नहुँदा सारै समस्या हुने गरेको छ’ उनले भने ।

जिल्लाका यी गाउँपालिकाका विभिन्न वडाहरुमा जडान गरिएका नेपाल टेलिकमका टावरसमेत सोलारकै भरमा चलिरहेका छन् ।
सोलार बत्तीकै भरमा टेलिकम टावर सञ्चालन हुँदा रातिको समयमा उक्त टावरले खासै काम नगर्ने गरेको स्थानीयवासीको गुनासो छ ।