अत्तरिया – भनिन्छ ‘श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन’ । यही भनाईलाई चरितार्थ उतारेकी छिन कैलालीको गोदावरी नगरपालिका – ८ की नन्दी मगरले ।
६४ बर्षकी नन्दी अहिले २६ बर्षदेखि अपाङ्गता भएका श्रीमान लगायतको परिवारको साहारा बनेकी छिन ।

एक खुट्टा र एक हात नचल्ने उनका श्रीमान, सौतेनी आमा र नातीको पालनपोषणका लागि नन्दी अहिले पनि खुटियो नदी किनारामा गिट्टी कुट्ने गरेकी छिन ।
२६ बर्ष अगाडी उनका श्रीमान सडक निर्माण मजदुरका रुपमा काम गरेर परिवारको घर खर्च चलाएका भएपनि श्रीमानको अचानक हात खुट्टा चल्न छोडेपछि नन्दी जिविको पार्जनका लागि गिट्टी कुट्न थालेकी हुन । नन्दीले २ छोरा भएपनि उनीहरु आ– आफ्नै काम गरेर खाने गरेको र, घरमा खासै नआउने गरेको बताईन् ।
‘कमाउने छोरा बुहारी भएपनि उनीहरु आफै कमाउने खाने गरेका छन । एउटा छोरा स्याङ्जा छ । एउटा छोरा यतै पहाड तिर काम गर्छ’ उनले भनीन् ‘कहीलेकाँही छोराछोरीले पैसा दिने भएपनि घरखर्च चलाउन आफूले काम नगरी पुग्दैन् ।’

उनले काम गर्न गाह्रो भएपनि पेट पाल्न भएपनि गिट्टी कुट्नुपर्ने बाध्यता रहेको बताइन् । उनले भनीन ‘कहिलेकाही गिट्टी कुट्दा चोटपटक पनि लाग्छ तर, पेटका लागि भएपनि काम गर्नै प-यो ।’
उनले गिट्टी प्रतिघनमिटर ८ सय देखि १५ सयका दरले बिक्री हुने गरेको बताईन् । महिनाभरीमा ४/५ घनमिटर गिट्टी तयार गर्ने गरेको नन्दीले बताइन् । उनले भनीन् ‘अहिले नगरपालिकाले पनि कहिले काँही सहयोग गरेको हुन्छ । कहिले चामल दिन्छन । एउटा संस्थाले पनि बाख्रा दिएको छ । त्यो पनि पाल्छु । खाली समयमा गिट्टी पनि कुट्ने गरेकी छु । यसरी घर चलेको छ ।’
उनले नदीमा ठेकेदारले ढुङ्गा उठाउन नदिने भएकाले टाढा–टाढा गएर गिट्टीका लागि ढुङ्गा खोज्नु पर्ने बाध्यता रहेको बताइन् ।
नन्दीका श्रीमान प्रेम बहादुर पुनमगरले एक खुट्टा र एक हातले काम नगर्ने भएकाले हिडडुल गर्न समस्या भएको बताए । ‘२०५२ सालदेखि म थला परेको छु । केही काम गर्न सक्दैन’ उनले भने ‘उपचारका लागि धेरै ठाउँ धाए’ उनले भने ‘धुर्चनामा भएको १२ कट्टा जग्गा बेचेर पनि समस्या निको भएन ।’
उनले सरकारले दिने वृद्ध भत्ताले अलिकती भएपनि घर खर्च चलाउन सहज भएको बताए । उनले हिडडुल गर्न नसक्ने भएकाले बृद्ध भत्ता लिन जान भने समस्या हुने गरेको बताए ।
उनले भने ‘पहिले अरुले भत्ता लिन गएपनि हुन्थ्यो । अहिले भत्ता ल्याउन आफै आउनु प-यो भन्छन त्यसैले समस्या भएको छ । घरमै गाडी बोलाउनु पर्छ ।’



















