कञ्चनपुर – कञ्चनपुरको मझगाउँमा रहेको विमानस्थल सञ्चालनमा ल्याउन माग गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटेर लामो समयदेखि बन्द विमानस्थल सञ्चालनका लागि माग गरेका हुन् ।

विमानस्थल सञ्चालनमा ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी स्थानीय तहले प्रतिवद्धता अनुरुपको रकम जम्मा गरिसक्दा र निर्माण कार्य अगाडि बढाउनका लागि ठेक्का सम्झौता भैसक्दा समेत काम अगाडि नबढेपछि संघको प्रतिनिधिमण्डले मन्त्री आलेलाई बिहीवार मन्त्रालयमा भेटेर ध्यानाकर्षण गरेको छ ।

मन्त्री आलेले विमानस्थल सञ्चालनका लागि काम अगाडि बढाउने अश्वासन दिएको संघका अध्यक्ष जंगबहादुर मल्लले बताए ।
ब्रह्मदेव टनकपुर नाकालाई धार्मिक पर्यटन नाकाको रुपमा सञ्चालन गर्न, वनवसाको पुल २४ सै घण्टा सञ्चालनमा ल्याउन समेत माग गरिएको मल्लले बताए । यसैगरी, कञ्चनपुरका धार्मीक पर्यटकीय क्षेत्र लिंगेश्वर महादेव (लिंगा) झिलमिला ताल, , वेदकोट तालको प्रवर्द्धन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको निजी क्षेत्रको सहकार्यमा प्रवर्द्धन गर्नुपर्ने लगायतका माग राखी ज्ञापनपत्र बुझाइएको अध्यक्ष मल्लले जानकारी दिए ।


















