अत्तरिया – कैलालीको अत्तरिया चोकमा रहेको विद्युत पोलमा बुधबार बिहानै आगलागि भयो ।
पोलमा आगलागि हुँदा बिभिन्न कम्पनीहरुले गंजागोल अवस्थामा झुड्याइएका इन्टरनेट लगायतका तार मात्रै ध्वस्त भएनन् नेपाल विद्युत प्राविधिकरणको तारमा समेत क्षति पुग्यो ।

जसले गर्दा अत्तरिया बजारका अधिकांस क्षेत्रमा बुधबार दिनभरी विद्युत र इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको थियो । बिच सडकमा भएको पोलमा आगलागि हुँदा आगो फैलिन नपाएपनि अत्तरियामा यसरी नै गंजागोल अवस्थामा घर संगै जोडिएका पोलहरु पनि जताततै रहेका छन । जसले गर्दा ति सबै क्षेत्रमा आगलागि हुने उच्च जोखिम छ ।
स्थानिय व्यवसायी गणेश पाण्डेले इन्टरनेट सेवा प्रदायकहरुले सुरक्षित तरिकाले तारहरु नबाधेका कारण पटक–पटक आगलागिको समस्या दोहरीन लागेको बताए । ‘विद्युत र इन्टरनेट सेवा प्रदायकको लापरर्वाहिले समस्या बढेको छ ।

एउटै पोलमा गंजागोल तार हुँदा जतिबेला पनि आगलागि हुन सक्ने खतरा छ’ उनले भने ‘आगलागिको धेरै खतरा छ । एक तारमा आगो लाग्ने बितिकै नजिकका पसल नै खरानी हुने खतरा छ ।’
उनले यसअघि पनि चोकमा पटक–पटक आगलागि दोहोरीने गरेको बताए । उनले भने ‘आगलागि कहिले हुन्छ भन्ने चिन्ताले व्यवसायी त्रासमा छौ ।’ अर्का व्यवसायी लिलाराम सापकोटाले गंजागोल तारका कारण आगलागिको डर रहेको बताए । उनले इन्टरनेट सेवा प्रदायकहरुले जताततै तार छोड्दा निकै खतरा बढेको बताए । ‘हरेक पटक यस्तै समस्या दोहरीएको छ’ उनले भने ‘अस्तव्यस्त तारका कारण बजार क्षेत्रका व्यवसायी सधै त्रासमा हुनुपर्छ ।’
अर्का व्यवसायी सुहेल मन्सरीले पोलमा छोडिएका तारका कारण आगलागिको खतर निकै बढी भएको बताए । उनले आगलागिको जोखिमबाट बचाउनका लागि तारहरुलाई भूमिगत बनाउन आवश्यक रहेको बताए ।

गंजागोल तारका कारण अत्तरिया बजार क्षेत्रका व्यवसायीका पसल बढी जोखिममा भएपनि समस्या हट्नुको सट्टा झन–झन तारहरु थपिने क्रम बढ्दै गएको छ । नयाँ सेवा प्रदायक कम्पनीहरुले आफ्ना तार पोलमा थप्दै जाँदा बजार क्षेत्र पनि कुरुप बनेको छ । अत्तरिया नो लाईटका सहायक इन्चार्ज पुस्कर दत्त पनेरुले तारको जालोले गर्दा चिसोमा शित पर्दा तार पड्किने बताए ।
उनले आगो लागेपछि पोलको आगो निभाउन निकै समस्या हुने गरेको बताए । बजार क्षेत्रमा विद्युतका पुराना पोल हटाएर नयाँ राख्ने काम भइरहेको भएपनि इन्टरनेट, केवुल लगायतका तार भने पुरानै अवस्थामा रहेको उनले बताए ।


















