अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्याङ्क संकलन सुरु गरिएको छ । नगरका ४ वडामा तथ्याङ्क संकलनको काम सुरु गरिएको छ ।
वडा नम्बर ९ र १० मा सोमबार देखि तथ्याङ्क संकलनको काम सुरु भएको छ भने वडा नम्बर ११ र १२ मा आइतबार देखि नै तथ्याङ् संकलनको काम सुरु गरिएको हो ।

वडा नम्बर ९ का सचिव गणेश दाहालले आइतबार करिब १ सय जनाको विवरण संकलन गरिएको बताए । उनले पहिलो चरणमा वडा कार्यालयबाट नै विवरण लिने काम भइरहेको बताए ।
‘आवश्यकता अनुसार वडाका अन्य ठाउँबाट पनि विवरण लिने काम गरिने छ’ उनले भने ‘विवरण संकलनका लागि ४ जना कम्युटर अपरेटर, २ जना रुजु अधिकारी र २ जना सहयोगी रहेका छन ।’
वडा नम्बर १० का वडा सचिव हिक्मत साउँदले सोमबार देखि नागरिक सचेतना केन्द्र दमौराबाट विवरण संकलनको काम सुरु भएको बताए । उनले पहिलो दिन ९७ जनाको विवरण संकलन गरिएको बताए ।
वडा नम्बर १० मा पनि ४ जना कम्युटर अपरेटर, २ जना रुजु अधिकारी र २ जना सहयोगी खटाइएका छन ।अहिले एकै ठाउँबाट विवरण लिने र पछि आवश्यक परे अन्य ठाउँमा पनि संकलन गरिने निर्णय गरेको वडा सचिव साउँदले बताए ।
वडा नम्बर ११ का वडा सचिव चन्द्र सिह कामीले आइतबार देखि विवरण संकलनको काम सुरु गरिएको बताए । उनले पहिलो दिन १६ जना र दोस्रो दिन (सोमबार) करिब ७० जनाको विवरण संकलन गरिएको बताए । उनले हाल वडा कार्यालयबाट विवरण संकलन गरिएको र केही दिन पछि वडाकै बान्द्रेखालबाट पनि विवरण संकलन गरिने बताए ।

वडा नम्बर ११ मा ३ जना कम्युटर अपरेटर, २ जना रुजु अधिकारी र २ जना सहयोगी खटाइएका छन । त्यस्तै वडा नम्बर १२ मा पनि आइतबार देखि विवरण संकलनको काम सुरु गरिएको छ ।
वडा सचिव लोक बहादुर कुँवरले पहिलो दिन १ सय जना र दोस्रो दिन १ सय ३० जनाको विवरण संकलन गरिएको बताए । उनले पुस ४ गते सम्म वडा कार्यालय र त्यसपछि कोल्मुडा र चाप सल्लिमा पनि विवरण संकलन टोली जाने योजना रहेको बताए ।
कोल्मुडा र चाप सल्लिमा लगत संकलनका लागि आवश्यक पुर्वाधारको भने अभाव रहेको उनले बताए । ‘बिजुली बत्तीको पनि सुविधा नभएकाले जेनेरेटरको व्यवस्था गर्न सकिए टोली जाने योजना बनाएका छौ’ उनले भने । वडामा ४ जना कम्युटर अपरेटर, २ जना रुजु अधिकारी र २ जना सहयोगी विवरण संकलनमा खटाइएका छन । गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले जिल्ला प्रशासनले मागे अनुसार नगरबाट सबै वडाका लागि २५ जना रुजु अधिकारीको नाम पठाइसकेको बताए ।
उनले जिल्लाबाट कम्युटर अपरेटर आएको ठाउँमा काम सुरु गर्दै लगिने बताए । विवरण संकलनका लागि रुजु अधिकारी नगरपालिकाले र कम्युटर अपरेटर जिल्ला प्रशासनले खटाउने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कैलालीमा परिचालित केही कम्युटर अपरेटर भजनी नगरपालिकामा विवरण संकलन गरिरहेकाले एकैचोटी गोदावरीका सबै वडामा काम सुरु हुन नसकेको बताए । उनले भजनीमा विवरण संकलनको काम अन्तिम चरणमा रहेकाले त्यसपछि गोदावरीमा कर्मचारी खटाईने बताए ।
उनका अनुसार मंगलबार वडा नम्बर ११ मा थप १ जना र वडा नम्बर ६ मा ३ जना कम्युटर अपरेटर पठाइने छ । कैलालीका अन्य पालिकामा राष्ट्रिय परिचय पत्र वितरणका लागि विवरण संकलनको काम सकिएको भएपनि गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा मात्रै विवरण संकलनको काम बाँकी छ ।
धनगढीमा भने सुरु हुन अझै केही दिन लाग्ने सूचना अधिकारी जोशीले बताए । यता गोदावरीका सबै वडामा विवरण संकलन गर्नका लागि ५६ जना कम्युटर अपरेटर र २५ जना रुजु अधिकारी आवश्यक पर्ने जनाइएको छ ।
राष्ट्रिय परिचय पत्र वितरणका लागि मतदाता नामावलिका आधारण विवरण संकलन गरिदै छ । विवरण संकलनका लागि एक वडामा १४ देखि १७ दिन लाग्ने अनुमान गरिएको छ ।
विवरण संकलन पछि नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औठा) छापसहितको स्मार्ट कार्डजस्तो राष्ट्रिय परिचयपत्र वितरण हुनेछ । कैलालीमा भने विवरण संकलन गरेपछि राष्ट्रिय परिचय पत्र वितरण गर्न कम्तिमा १ बर्ष लाग्ने जनाइएको छ ।


















