अत्तरिया – कैलालीको गोदावरी नगरपालिका कार्यालय भवनको निर्माण कार्य २ बर्षमा ६५ प्रतिशत सम्पन्न भएको छ । थपिएको म्याद सकिन २ महिना बाँकी हुँदा ६५ प्रतिशत भौतिक प्रगति भएको हो ।
एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण भइरहेको भवनको निर्माण म्याद साउन २० गते सकिएको थियो । कोरोना महामारीका कारण काम गर्न नपाइएको भन्दै हाल भवन निर्माणको म्याद माघ २० सम्म बढाइएको क्षेत्रिय सहरी विकास आयोजना धनगढी कार्यालयका इन्जिनियर द्रोण कटुवालले बताए ।

उनले पहिलो चरणको कोरोना महामारीका कारण स्वतः ६ महिना म्याद थपिएको र दोस्रो लहरको कोरोनाका कारण पनि काममा अवरोध भएकाले ६ महिना अझै म्याद थप्न सकिने बताए । ‘भवनको संरचना बनाउने काम लगभग सकिएको छ । अब पलास्टर गर्ने, वाईरिङ गर्ने, टाइल बिछाउने लगायत फिनिसिङको काम हुँदैछ’ उनले भने ‘सकेसम्म माघ २० सम्ममै काम सकिन्छ होला ।’
उनले माघ २० सम्ममै भवन संचालन आउने गरी काम गरिरहेको बताए ।

निर्माण कम्पनीका प्रतिनिधि रोसन भट्टले भने भवनको ७० प्रतिशत काम सकिएको दावी गरे । उनले भवनमा फिनिसिङ र पर्खाल लगाउने काम बाँकी रहेको बताए । उनले अहिले भवन निर्माणका लागि ७० जना मदजुरले काम गरिरहेको बताए ।
भवन निर्माणका लागि एम/एस शर्मा एण्ड कम्पनीसंग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सुरुमा गरिएको सम्झौता अनुसार भवन निर्माणको काम २०७८ साउन २० गते सकिने उल्लेख छ ।
सुरुवाती चरणमा निर्माणको काम निकै सुस्त गतिमा भएपनि पछिल्लो समय भने काममा तिव्रता दिईएको निर्माण कम्पनीले दावी गरेको छ ।
कोरोना महामारी र लकडाउनका कारण भवन निर्माणको काम समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले जनाउँदै आएको छ ।
२ तले नगरपालिका भवनले हाल आकार लिएको भएपनि फिनिसिङको काम चलिरहेको छ । हाल गोदावरी नगरपालिकाको आफ्नै भवन नहुदाँ अत्तरियाको धनगढी रोडमा रहेको एक निजी भवनमा भाडामा सञ्चालनमा रहेको छ । नगरपालिकाको भवन निर्माणका लागि गोदावरी नगरपालिका – २ तेघरीमा झण्डै १५ कठ्ठा जमीन यसअघि नै खरिद गरिएको थियो ।
एशियाली विकास बैंककै लगानिमा गोदावरीमा फोहर व्यवस्थापन, ढल निकास, पक्की सडक निर्माणको काम पनि भइरहेको छ । सडक निर्माणको काम पनि नगरभित्र जारी रहेपनि फोहर व्यवस्थापन, ढल निकासको भौतिक प्रगती भने सुन्य छ ।


















