खाेज्नुहाेस

राष्ट्रिय मावि कृष्णपुरमा नियम विपरित शिक्षक छनोट गरिएको आरोप 

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ कलुवापुरमा रहेको राष्ट्रिय माविमा शिक्षक छनोट नियम विपरित गरिएको आरोप लागेको छ । नगरपालिकाको अनुदानमा २ वटा शिक्षक नियुक्त गर्दा नियम विपरित कार्य गरिएको आरोप लागेको हो ।

नेपाली मावि र अंग्रेजी निमावि शिक्षक छनोट गरिसकिएको भएपनि उक्त पदका लागि आवेदन दिएकाहरुले शिक्षक नियुक्ती नियम संगत नभएको बताएका छन ।

attariya hospital

अंग्रेजी बिषयको शिक्षकका लागि आवेदन दिएका गणेश बिष्टले प्रश्न पत्र निर्माण देखि परीक्षा संचालन सम्मका काम नियम संगत नभएको बताए ।

‘हामीले परीक्षा संचालन हुनुभन्दा पहिले नै नियम संगत नभएको भन्दै नगरपालिकालाई पत्र दिएका थियौ’ उनले भने ‘परीक्षा हुनुपुर्व पनि त्यस्तै त्रुटी थियो । प्रश्न पत्र बिषय विज्ञले बनाउनुको साटो अन्य शिक्षकलाई नै बनाउन दिइएको थियो । परीक्षा दिदाँ पनि कोठामा परीक्षार्थी भन्दा अन्य मानिस बढी थिए ।’

उनले नियम विपरित शिक्षक छनोट गर्ने समितिलाई नै कारवाही गर्नुपर्ने बताए । उनले परिक्षामा अनियमितता भयो भन्दा आवेदकको दस्तुर नै फिर्ता गरिएको बताए ।

अर्का आवेदक राज रावतले परीक्षा रोकिनुपर्ने भन्दै उम्मेदवारहरुले निवेदन दिएपनि बेवास्ता गरिएको बताए । उनले रातारात बिषय विज्ञ खोजेर प्रश्नपत्र बनाइएको बताए ।

स्थानिय नरेश जोशीले शिक्षा नियमावलीमा ५ जनाको शिक्षक छनोट समिति बनाइनु पर्ने नियम भएपनि विद्यालयले भने मनोमानी रुपमा ७ जना राखेको बताए ।

उनले शिक्षक छनोटमा राहतमा कार्यरत शिक्षक र लेखापाललाई पनि सहभागि गराइएको बताए । ‘बिषय विज्ञ शिक्षकबाट प्रश्न पत्र लेखिनुपर्नेमा राहतमा कार्यरत सुवास पन्त सरबाट प्रश्न पत्र लेखिएको छ’ उनले भने ‘यसरी नियम विपरित काम रोक्न भनी १०–१५ जना परिक्षार्थीले माग गरेपनि परिक्षार्थीको दस्तुर नै फिर्ता गरी केही परिक्षार्थीलाई मात्रै समावेश गरिएको छ ।’

उनले नियम बिपरित विद्यालयमा कार्यरत लेखापाललाई पनि परीक्षा समितिमा समावेश गरेर प्रश्नपत्र प्रीन्ट गर्न लगाएको बताए । उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र धामीले भने शिक्षक छनोटको परीक्षा नियम संगत भएको बताए ।

navjiwan hospital

उनले सबैकुरा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर बिषय विज्ञ मार्फत परीक्षा संचालन गरिएको बताए । ‘हामीले सहयोगका लागि विद्यालयकै स्टाप नेपाली शिक्षक र लेखापाललाई राखेका हौ । अनी सहयोग माग्न हामीले कहाँ जाने’ उनले भने ‘स्कुलको स्टाप २ जना लग्ने कुरा भयो त्यही अनुसार हामीले काम ग¥यौ । सबैकाम निर्णय गरेर नै भएको छ ।’

उनले परीक्षा संचालनका क्रममा पनि कुनै चलखेल नहोस भन्नका लागि सबैका मोबाइल समेत थुतेको बताए । उनले बिना कारण आरोप लगाउन लागिएको बताए ।

विद्यालयले असोज ५ गते नेपाली बिषयको विज्ञापन खोलेको थियो भने त्यसपछि कार्तिक ८ गते अंग्रेजी बिषयको विद्यापन खोलेको थियो । पहिलो पटक खोलिएको विज्ञापनको परिक्षा कार्तिक ३ गते हुने भनिएपनि पछि ८ गते पुनः अर्को विज्ञापन खोलेर १७ गते एकैदिन परिक्षा संचालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक टेक राज जोशीले नेपाली बिषयको परीक्षाका लागि १२ जना र अंग्रेजी बिषयमा ११ जनाले आवेदन भरेको बताए ।

उनले पछि सबैले परीक्षामा सहभागि नहुने भनेर कबुलियतनामा गरेर ८ जनाले पैसा र कागजात फिर्ता लगेको बताए । नेपाली बिषयको परीक्षामा ६ जना र अग्रेजी बिषयको परीक्षामा ३ जना मात्रै सहभागि भएको प्रधानाध्यापक जोशीले बताए । अन्य आवेदक भने अनुपस्थित रहेका थिए ।

‘सबैकाम निर्णय अनुसार भएको छ । अब मुद्धा परिसकेकाले छानबिन गर्ने समितिले हेर्ने हो । त्यतिबेला सबै कुरा थाहा होला । बाहिर जसले जे पनि भन्न सक्छन’ उनले भने ‘जे जे काम भएको छ निर्णय अनुसार भएको छ ।’

उनले शिक्षक छनोट समितिमा नगरपालिकाको शिक्षा शाखाबाट उपसचिव, २ जना बिषय विज्ञ, १ जना प्रअ र एक जना व्यवस्थापन समितिबाट राखिएको बताए । उनले प्राबिधिक सहयोगका लागि भने एकजना लेखापाल र एकजना शिक्षक निर्णय गरेर नै लगेको बताए ।

उनले सहयोगका लागि लगेको शिक्षकले विज्ञले प्रश्न भनेपछि लेख्ने काम मात्रै गरेको बताए । बिषय विज्ञका रुपमा विद्यालयले बमन राना र जगदिश जोशीलाई तोकेको थियो ।

कृष्णपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख (उप सचिव) बिष्णु दत्त भट्टले नगरपालिकाको नगर शिक्षक अनुदान मार्फत २ जना शिक्षक राष्ट्रिय माविमा नियुक्ती गरिसकिएको बताए ।

उनले नगरपालिकाले न्यून दरबन्दी भएका विद्यालयहरुमा अनुदान भनेर रकम दिने गरेको बताए । उनले शिक्षक छनोटका लागि विद्यालय व्यवस्थापन समितिकै अध्यक्षको नेतृत्वमा समिति बनाइने प्रावधान रहेको बताए ।