अत्तरिया – कैलालीको अत्तरियामा फुटवेयर उद्योग संचालनमा आएको छ । करिब पौने ४ करोडको लगानीमा गोदावरी नगरपालिका – ४ बसन्तपुरमा गोलादेउ फुटवेयर उद्योग संचालनमा आएको हो ।
उद्योगका संचालक देव साउँदले एक साता देखि फुटवेयर उद्योगबाट जुत्ताको उत्पादन सुरु गरेको बताए । उनले सुरुवाती चरणमा उद्योगमा बच्चाको जुत्ता, स्पोर्ट जुत्ता र महिलाको जुत्ताको उत्पादन सुरु गरिएको बताए । उद्योगका लागि कच्चा पदार्थ भारत र चीनबाट आयाग गर्ने गरिएको उनले बताएका छन ।

उद्योगमा हाल २० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन । ‘२ जना बाहेक उद्योगमा सबै नेपालीले रोजगारी पाएका छन’ उनले भने ‘जुत्ता बनाउने काममा पुरुष कामदार छन भने प्याकेजिङको काममा महिलाले काम गरिरहेका छन ।’
उनले भारतमा दाईले जुत्ता उद्योग संचालन गरेकाले त्यही बाट प्रेरीत आएर आफ्नै ठाउँमा उद्योग संचालन गरेको बताए । उनले अहिले जुत्ता बजारमा नपुगाएको भएपनि बजारमा स्याम्पल लग्दा राम्रो प्रतिक्रिया पाएको बताए ।

‘स्थानिय बजारमै उत्पादित जुत्ताले राम्रै बजार लिन्छ होला भन्ने लागेको छ’ उनले भने ‘बजारको माग हेरेर आगामी दिनमा व्यवसाय थप गर्दै लग्ने योजना छन । तर, तत्काल यसलाई नै बजारमा चिनाउन हामी लागेका छौ ।’

उनले हाल २० जनाले काम गरिरहेका भएपनि उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्नका लागि कम्तिमा ३५ जना आवश्यक पर्ने बताए ।
उद्योगको दैनिक १ हजार जोरी जुत्ता उत्पादन गर्ने क्षमता रहेको संचालक साउँदले बताएका छन । ‘सुरुवाती चरणमा हामीले अहिले दैनिक ४/५ सय जोरी जुत्ता उत्पादन गरिरहेका छौ’ उनले भने ‘लगतै उद्योग पूर्ण क्षमतामा संचालन गरेर देशैभरी जुत्ता पुगाउने लक्ष्य छ ।’

उनले बजारको माग र ग्राहकको चाहना हेरी जुत्ताको डिजाइनमा परिवर्तन गर्दै लौजाने बताए । ‘अहिले अलि राम्रो खालको जुत्ता २ हजार देखि २५ सय सम्मको छ’ उनले भने ‘सामान्य जुत्ता १ हजार सम्मका पनि उत्पादन गरिरहेका छौ । बच्चाको जुत्ता भने केही सस्तो पर्छ ।’
उनले जुत्ताको ब्राड नामका बारेमा भने अहिले प्रक्रिया अगाडी बढेको बताए । ‘ब्रान्डको नाम मार्सल राख्ने भनेर हामीले दर्ता प्रक्रियामा लगेका छौ’ उनले भने ‘सो नामले स्वकृति पाउने वितिकै हामी आधिकारीक रुपमा सो नामको जुत्तालाई बजारमा ल्याउँन्छौ ।’
उनले नेपालमै कच्चा पदार्थको अभाव हुँदा बाह्य देशबाट ल्याउन भने केही झन्जट हुने बताए ।


















