खाेज्नुहाेस

१० महिना देखि रोकिएको चाक्लेखोला पुल निर्माणको काम सुरु 

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० मा निर्माणाधिन चाक्लेखोला पुल निर्माणको काम सुरु भएको छ । बिविध कारणले १० महिनादेखि रोकिएको काम यसै साताबाट सुरु भएको हो ।

निर्माण कम्पनीले गत आर्थिक बर्ष २०७७/०७८ भित्रमै सक्ने गरी काम गरेको भएपनि बजेट अभावका कारण रोकिएको थियो । यद्दपी उक्त पुलको निर्माण अवधि २०७८ पुस मसान्त सम्म रहेको थियो ।

attariya hospital

१ करोड ७२ लाख १ हजार ७ रुपियाँ लागत रहेको उक्त पुल निर्माणका लागि आर्थिक बर्ष २०७७/०७८ मा ५० लाख मात्रै बजेट बिनियोजन गरिएकाले निर्माण कम्पनीले काम अगाडी बढाउन सकेको थिएन ।

चालु आर्थिक बर्षमा पुल निर्माणका लागि थप ७० लाख बजेट विनियोजन गरिएपछि काम सुचारु भएको हो । पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख जगत जोशीले पुल ढलानका लागि ठेकेदार कम्पनीले निर्माण सामग्री ढुवानी गरिरहेको बताए । उनले लगत्तै ढलानको काम सुरु हुने बताए ।

navjiwan hospital

उनले म्याद अवधि भित्र काम नसकिए म्याद थपेर पनि काम सम्पन्न गरिने बताए । हाल पुलको निर्माण कार्य ७० प्रतिशत सकिएको छ । गोदावरी नगरपालिका – ११ का वडाध्यक्ष शिव विकले पुल निर्माणको काममा ढिलाई नभएपनि चाँडो काम सकिएमा यस क्षेत्रका जनतालाई सहज हुने भएकाले आफूहरुले छिटो काम सक्न पहल गरेको बताए ।

‘२०२३ सालमा बस्ती बसेको भएपनि सो समय देखि हालसम्म यो क्षेत्रका जनता पुल नहुँदा समस्या भोग्दै आएका छन’ उनले भने ‘लामो समय देखि यो पुल भोट माग्ने अस्त्रका रुपमा मात्रै प्रयोग भयो । अहिले प्रदेश सरकार आइसकेपछि यो पुल निर्माणको काम अगाडी बढेको छ ।’

उनले अहिले यो पुल चाँडो बनोस भनेर स्थानियको माग रहेको बताए । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले पुलको निर्माण कार्य समय अवधि भित्रै सक्ने गरी काम सुचारु भएको बताईन् ।

सोमबार पुल निर्माण स्थलको अवलोकन गर्दै उनले काम दु्रत गतिमा अगाडी बढाउन आवश्यक निर्देशन दिइएको बताईन् । चाक्लेखोला पुलको गत वर्षको असोज १८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार मार्फत निर्माण भइरहेको उक्त पुल निर्माणका लागि १ करोड ७२ लाख १ हजार ७ रुपियाँमा जय धनन्जय/रोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको छ । २५ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाट रहने छ ।