चुरेको कालिका प्राविले पायो १५ बर्ष पछि विद्यालय भवन, राज्यमन्त्री चौधरीद्धारा उद्घाटन
अत्तरिया – कैलालीको चुरे गाउँपालिका – १ जीरेतोलामा रहेको कालिका प्राथमिक विद्यालयमा १५ बर्ष पछि विद्यालय भवन निर्माण गरिएको छ । स्थापना भएको १५ बर्ष वितिसक्दा पनि राज्यका निकायबाट कुनै भौतिक संरचना नपाएको उक्त विद्यालयले पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकार मार्फत २ कोठे विद्यालय भवन पाएको हो ।

सुगम मानिने कैलालीको विकट क्षेत्रमा रहेको उक्त विद्यालय भवनको बिहिबार प्रदेश सरकारकी भौतिक पुर्वाधार राज्य मन्त्री चुनकुमारी चौधरीले उद्घाटन गरेकी छिन । भवनको उद्घाटन गर्दै चौधरीले आफूले दुर्गम क्षेत्रमा जनताको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।

उनले कैलालीमा पछि परेको चुरेमा मात्रै चालू आर्थिक बर्षमा ४ वटा विद्यालय भवन निर्माणको काम अगाडी बढाएको बताइन् । उनले सबैभन्दा पहिलो प्राथमिकता शिक्षालाई दिएकाले आफूले जनप्रतिनिधि नहुँदा देखि नै चुरे क्षेत्रमा विद्यालय भवन बनाउन पहल गर्ने गरेको बताईन् ।

‘निर्वाचित भएपनि म निरन्तर जनताको काममा लागेकी छु’ उनले भनीन ‘मैले पहिले काम गर्ने पछि भेट्ने भनेर आज यस ठाउँमा विद्यालय भवन बनेपछि आएकी छु ।’ उनले चुरेमा विद्यालय, खानेपानी, सिचाइका र तटबन्धनका काम अगाडी बढाएको बताइन् ।
‘म मन्त्री भएपनि निरन्तर जनताका बिचमा छु । म अहिले पनि मन्त्रालय भन्दा पनि जनताका बिचमा बढी हुन्छु’ उनले भनीन् ‘तत्काल कहाँ कहाँ समस्या छ । ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा म केन्द्रित भएकी छु ।’
उनले जीरेतोलाका खानेपानी, सिँचाई लगायतका समस्या समाधानका लागि पनि आफू लागिपर्ने बताइन् । उनले चुरे क्षेत्रमा मुख्य रुपमा बाटोको ठूलो समस्या भएकाले प्रदेश सरकारले यसलाई आगामी दिनमा प्राथमिकता राख्ने बताइन् ।
२०६३ सालमा प्रत्येक घरधुरीबाट रकम संकलन गरेर कक्षा १ मा अध्यापन गराउने गरी विद्यालय स्थापना गरिएको थियो । विद्यालयकी प्रधानाध्यापक बोधी थापाले विद्यालय टाढा हुँदा साना बालबालिका जान नसक्ने भएकाले गाउँमै विद्यालय स्थापना गरिएको बताइन् । उनले विद्यालय स्थापना गरेको लामो समय वितिसक्दा पनि राज्यका कुनै निकायबाट नहेरिएको बताइन् ।
‘१ कक्षाबाट सुरु गरिएको विद्यालयमा अहिले २ कक्षा सम्म मात्रै अध्यापन हुन्छ’ उनले भनीन ‘मैले ७ सय तलबबाट पढाउन सुरु गरेकोमा अहिले २ जना शिक्षिकाले ६/७ हजार तलबमा पढाउदै आएका छौ ।’ उनले विद्यालयको आयश्रोतको माध्यम नहुँदा निकै समस्या भएको बताइन् ।
उनले विद्यालय भवनपनि स्थानियले मिलेर बनाएकोमा अहिले आएर पहिलो पटक विद्यालय भवन पाएकोमा खुसी लागेको बताइन् । ‘जीरेतोलाबाट साना बालबालिकालाई निगाली पढ्न पठाउन टाढा भएकाले जसोतसो हामीहरुले विद्यालय संचालन गरिरहेका छौ’ उनले भनीन ‘अहिले विद्यालय भवन निर्माण भइसकेकाले आगामी दिनमा कतैबाट शिक्षकको व्यवस्था भए कक्षा ३ सम्म पढाउने योजना छ ।’
उनले विद्यालय स्थापना गर्दा ६० जना विद्यार्थी भएपनि अहिले २ कक्षा सम्म ४० जना विद्यार्थी अध्ययन गरिरहेको बताइन् । उनले रकम अभाव भएपछि व्यवस्थापन समितिबाटै निर्णय गरेर दिवा खाजाको रकमबाट तलब लगायतका खर्च व्यहोरिरहेको बताइन् । उनले अभिभावकबाट रकम संकलन गर्ने अवस्था पनि नभएकाले राहत अथवा दरबन्दी शिक्षकका लागि पहल गरिदिन राज्यमन्त्री चौधरी संग आग्रह गरीन् ।
हाल निर्माण गरिएको विद्यालय भवन प्रदेश सरकारको १८ लाखको लागतमा निर्माण गरिएको हो ।
स्थानिय समाजसेवी लक्ष्मण बोहराले राज्यमन्त्री आफ्ना क्षेत्रका समस्या बुझ्न आएकोमा निकै खुसी लागेको बताए । उनले शिक्षा क्षेत्रबाटै आफूहरुको क्षेत्र कमजोर अवस्थामा रहेको बताए ।
‘विद्यालय स्थापना गरेको लामो समय वितिसक्दा पनि कतैबाट सहयोग नपाउँदा हामीहरुले जेनतेन गरेर विद्यालय संचालन गरेका छौ’ उनले भने ‘आगामी दिनमा यस क्षेत्रका समस्या समाधान हुनेमा हामी आशावादी छौ ।’
मोहन्याल माविका प्रधानाध्यापक जय बहादुर धामीले जीरेतोलामा थुप्रै समस्या रहेकाले राज्यमन्त्री गाउँमै आएर समस्या बुझ्न आएकोमा खुसी लागेको बताए । उनले स्थानिय तहका जनप्रतिनिधि समेत नआएको आफ्नो क्षेत्रमा पहिलो पटक राज्यमन्त्री आएर आफ्ना समस्या सुनिदिएकोमा धन्यावाद ज्ञापन गरे ।
