अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा खोला मिचेर सडक बिस्तार गरिदैं छ । अत्तरियाको महेन्द्रनगर रोडको शाखा सडक बिस्तार गर्दा नगरपालिकाले खोला माथि वाल (पर्खाल) लगाएर सडक विस्तार गर्न लागेको हो ।
साधुरो सडकलाई नगरपालिकाको मापदण्ड अनुसार बनाउँने भन्दै फराकिलो बनाउने नाममा खोलामाथि वाल लगाउन थालेपछि बर्षातमा डुवानको समस्या झन बढ्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन ।

स्थानिय हरी गुँरागाईले करिब १२ फुट चौडाइ भएको खोलाको बिच भागमा वाल लगाएर ५÷६ फुट साधुरो बनाउन लागिएको बताए । ‘खोलाको भाग चौडा हुँदा पनि अस्तीको पानी सडकको सतह सम्म पुगेको थियो । अब झन खोला साघुरो बनाउन थालिएपछि खोला माथिको क्षेत्र डुवानमा पर्ने खतरा बढेको छ’ उनले भने ।

उनले खोलाको किनारमा पहिले पैदल हिड्ने बाटो मात्रै भएपनि पछि बाटो फराकिलो बनाउँदै अहिले नगरपालिकाले नै खोला माथि वाल हाल्नु आस्र्चयजनक भएको बताए । खोलाको दक्षिण पट्टि पहिले देखि नै घर निर्माण गरिएकोमा खोलाको उत्तर पट्टिबाट पनि सडकको चौडाई बढाउन थालिएपछि खोला नालामा परिणत हुने देखिएको छ ।
उता नगरपालिकाका इन्जिनियर पुर्ण कुँवरले नगरपालिकाको मापदण्ड अनुसार सडक बनाउन खोलामा वाल लगाउन लागिएको बताए । उनले वाल लगाएपछि पनि करिब ५ फुट जती खोलाको भाग बाँकी रहने बताए । तर, सोहि खोलाको पुर्व पट्टी राजमार्गमा भने करिब ५ मिटर लम्बाइको कल्र्भट हालिएको छ ।
नगरपालिकाका अनुसार उक्त शाखा सडक साढे ५ किलोमिटर रहेको छ । जसमध्ये नगरपालिकाले चालु आर्थिक बर्षमा ‘निदाल सरको घर जाने बाटोमा चिनाई सहित ग्राभेल वर्क’ शिर्षक अन्तरगत १ सय ८० मिटर सडक निर्माण गर्न लागेको हो । वाल हालिएपछि सडकको चौडाई ४ दशमलव ८० मिटर हुने इन्जिनियर कुँवरले बताएका छन । उक्त सडक निर्माणका लागि नगरपालिकाले १२ लाख ८० हजारमा खप्तड कंस्ट्रक्सन संग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार सडक निर्माणको म्याद पुस मसान्त सम्म तोकिएको छ । गोदावरी नगरपालिका – १ का वडा अध्यक्ष शर्मानन्द भट्टले सो क्षेत्रको समस्याका बारेमा आफूले स्थानियबाट जानकारी पाएपनि प्रत्यक्ष रुपमा हेर्न नपाएको बताए । उनले बुधबार प्रबिधिक टिम सहित अवलोकन गरेर यसका बारेमा जानकारी लिने बताए ।


















