धनगढी – सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशी नियुक्त भएका छन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको थियो । जोशीलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन ।
मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश संगै प्रदेश १, कर्णाली प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएका छन ।

मंगलवार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका व्यक्तिहरूलाई देहायको प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी थिइन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम राष्ट्रपति भण्डारीले तीन वटा प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हुन । यो सँगै प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रमुख गोविन्द कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादव पदमुक्त भएका छन ।

४५ महिनामा चारजना प्रदेश प्रमुख
पछिल्लो ४५ महिनामा सुदूरपश्चिम प्रदेशले चारजना प्रदेश प्रमुख पाइसकेको छ । संविधानमा प्रदेश प्रमुख पद नेपाल सरकारको प्रतिनिधिको रुपमा रहने व्यवस्था गरिएको छ । उसलाई राष्ट्रपतिले जुनसुकै बेला पदमुक्त गर्न सक्ने व्यवस्था रहेका कारण यो पद अस्थित बन्ने गरेको छ ।
प्रदेशमा यसअघि मोहराज मल्ल, शर्मिला कुमारी पन्त (त्रिपाठ) र गंगाप्रसाद यादव प्रदेश प्रमुख बनिसकेका छन । मल्ल देउवा सरकारको पालामा २०७४ माघ ३ गते प्रदेश प्रमुख बनेका थिए । उनलाई २०७६ कात्तिक १७ गते केपी शर्मा ओली सरकारले पदमुक्त गरेको थियो ।
त्ससपछि ओली सरकारले त्रिपाठीलाई २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । उनलाई पछि ओली सरकारले नै २०७८ वैशाख २० गते पदमुक्त गरेर गंगाप्रसाद यादवलाई २०७८ बैशाख २० गते नियुक्त गरेको थियो ।
हाल नियुक्त भएका जोशी यसअघि बाजुराबाट संबिधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनी कांग्रेस पार्टीबाट संबिधान सभामा निर्वाचित भएका थिए ।



















