धनगढी – नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाहीमाथि छानबिन गर्न सैनिक मुख्यालयले ’कोर्ट अफ इन्क्वाइरी’ गठन गरेको छ । रक्सी खाएर चिसापानी बजारमा बितन्डा मचाएको आरोप लागेका शाहीमाथि छानबिन गर्न महासेनानीको अध्यक्षतामा ’कोर्ट अफ इन्क्वाइरी’ गठन गरिएको हो ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडलले ’कोर्ट अफ इन्क्वाइरी’ले भोलिबाट काम सुरु गर्ने बताए ।


भाइटिकाको भोलिपल्ट राति ११ बजेतिर मेजर शाही प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर चिसापानी बजार पुगेका थिए । चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलसँग मेजर शाहीले विवाद सुरु गरेका थिए ।
त्यसपछि शिक्षालयको गेटमा पुगेर ड्युटी बसिरहेका हुद्दा तीर्थबहादुर बडुवालाई एसएलआर सहित गाडीमा राखेर मेजर शाही पुन चिसापानी बजार पुगेका थिए । मजेर शाही फर्किएर आएर पुनः बितण्डा मच्चाउन थालेको भन्दै स्थानीयले उनको गाडीसमेत तोडफोड गरेका थिए ।
मदिराले मातेका मजेर शाहीले बितण्डा मच्चाउन थालेपछि इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको थियो । आक्रोशित स्थानीयले आक्रमण गर्दा मेजर शाहीको टाउकामा चोटसमेत लागेको थियो ।

















