रमेश बहादुर सिह/बझाङ – पहिरोमा क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण नहुँदा जयपृथ्वी नगरपालिका वडा नं. १ कैलाश पिमिका स्थानीयवासी समस्यामा परेका छन् ।
कैलाशसम्म पुग्ने सडक, विद्युत्, लगायतका संरचनाको पुनःनिर्माण नहुँदा स्थानीयवासी समस्या परेका हुन् । पहिराले सयौँ स्थानमा सडक अवरुद्ध हुँदा यहाँका ३५० परिवार सडकको पहुँचबाट टाढा छन ।

आपतकालीन अवस्था आइलागे झण्डै दुई घण्टा पैदलयात्रा गरेर पहिरोसहितको भिर छिचोल्नुपर्ने उनीहरुको बाध्यता छ । यस्तै पहिरोले क्षतविक्षत् बनाएको विद्युत् अझैसम्म सुचारु हुन नसक्दा स्थानीयवासीको दीपावली पनि अन्धकारमा बितेको छ । स्थानीयवासीले दसैँका लागि जोहो गरेको खाद्यान्नले अहिलेसम्म गुजारा चलाइरहेका छन् ।
जयपृथ्बी नगरपालिका – १ पिमिका राजन सिँहका अनुसार नगरपालिकाको वडा नं. २ बाजगाउ सम्म सडक सच्चालन भइरहेपनि वडा नं. १ कैलाश सम्म सडक सच्चालन हुनसकेको छैन् । ‘सडकमा ठूलठूला पहिरा गएका कारण उल्लेख्य काम हुन सकिरहेको छैन’ उनले भने ‘विद्युत्लगायत संरचनाको पुनःनिर्माण नहुँदा हामी धेरै समस्या छौँ ।’

पहिरोका कारण यहाँ धैरे घर जोखिम छन भने दर्जन बढी परिवार प्रभावित भएका छन् । तीमध्ये तीन परिवार त छिमेकीको शरणमा बसिरहेका छन् । ‘सडक नखुलेर हो वा किन हो थाहा भएन । तर अहिलेसम्म यहाँ कोही राहत लिएर आइपुगेका छैनन’ सिँहले भने ‘यसपाली त हामीलाई चाडपर्वले छोएको थिएन ।’
अवरुद्ध सडकका कारण विरामीहरुलाई अस्पतालसम्म लैजान पनि समस्या हुने गरेको अर्का स्थानिय रविन्द्र सिँहले बताए । ‘यहाँका स्थानीयवासी आकस्मिक बिरामी परे अस्पतालसम्म लैजान निकै कठिन छ’ उनले भने ‘हामी त नाकाबन्दीको अवस्थामा परेका छौँ । बाटो चाँडो खुलाउन सके सहज हुन्थ्यो ।’
लामो समयसम्म सडक अवरुद्ध बनिरहे बिरामीलाई उपचारमा लैजान तथा खाद्यान्नको प्रबन्ध गर्न कठिन पर्ने उनले बताए । सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव खड्किने अवस्था आएको स्थानिय शिक्षक उकेश सिँहले बताए ।
बेमौसमी वर्षाले क्षती पु-याएका कुनै पनि संरचना तथा भौतिक पुर्वाधारहरुको पुनःनिर्माणको कार्य अहिलेसम्म अगाडि बढ्न सकेको छैन् ।
नगरपालिकाको वडा नं. २ बाजगाउ देखि वडा नं. १ पिमिसम्म बीचमा सडकमा सयौँ स्थानमा पहिरो झरेको छ । कतिपय स्थानमा सडक पहिरोले बगाएको छ ।
यी स्थानमा सडक निर्माणमा लामो समय लाग्ने अवस्था छ । जयपृथ्वी नगरपालिका नगरप्रमुख बिरेन्द्र बहादुर खड्काले पहिरोले नगरपालिका क्षतविक्षत् हुनुका साथै स्थानीयवासीले ठूलो समस्या भोगिरहँदा सरकारी निकायले उचित सहयोग र समन्वय नगरेको बताए ।
‘समयमै सडक सुचारु गराएर सम्भावित कठिनाई रोक्न सहयोग मागिरहेको छु’ मेयर खड्काले भने ‘प्रशासनिक निकायले विभागीय कार्यालयलाई संरचना पुनःनिर्माणमा परिचालन नगर्दा हामीले ठूलो समस्या भोग्नु परिरहेको छ ।’
बाढीपहिराले क्षती पु¥याएका विद्युत्, खानेपानी, सिँचाइलगायतका संरचनाको हालसम्म पनि पुनः निर्माण नहुँदा यहाँका स्थानीयवासीले कष्टकर जिवन बिताउनुपर्ने बाध्यता रहेको छ ।


















