कञ्चनपुर – कञ्चनपुरमा बिहिबार युवकहरुको ग्याङफाइटमा परेर एक जना प्रहरी घाइते भएका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरका एक असइ घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बेदकोट नगरपालिका–८ गैलनदीमा बिहीबार युवकको एक समूहले अर्को समूहमाथि आक्रमण गरेको थियो । प्रहरीका अनुसार त्यस आक्रमणमा परेर घाइते भएकाहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।


त्यस क्रममा फेरी आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा असइमाथि पनि आक्रमण भएको छ ।
असइको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपाने बताए । घटनामा संलग्न ५ युवकलाई नियन्त्रणमा लिइएको उनले बताए ।
अन्य युवकको खोजीकार्यका लागि प्रहरी परिचालन भएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर माझीले अहिले पनि घटनामा संलग्न ती युवाहरुको खोजीका लागि आफ्नो टोली ठाउँठाउँमा पुगिरहेको बताए ।

















