अत्तरिया – तिहार सुरु भएसंगै कैलालीको अत्तरिया बजार क्षेत्र रंगिचंगी बनेको छ । बजार क्षेत्रको सडक किनामा राखिएका रङ्गीचङ्गी फूलका माला तथा झिलिमिली बिजुली बत्ती लगायतका तिहार सामग्री राखिएका अस्थाई बजारले बजारमा रौनकता बढेको छ ।
यस्ता सामाग्री बिक्रिका लागि अत्तरिया बजारमा राखिएका अधिकांस अस्थाई पसल भारतीय व्यापारीले संचालन गरेका छन ।

यसरी बजारका सडक किनारामा संचालन भएका यी पसलहरुमा रातीको समयमा बाल्ने झिलिमिली बत्ती, सजावटका कृतिम फुलमाला, माटोको दिया, भगवानका फोटो, रंग लगायत अन्य सजावटका सामान राखिएका छन । सडक किनारामा राखिएका यस्ता ४ दर्जन बढी पसलमा सामान भने अधिकान्स भारतबाट ल्याएका छन भने व्यवसायी पनि अधिकांस भारतीय छन ।
यसरी राखिएका पसलहरुमा गत बर्षको तुलनामा मुल्य अत्याधिक भएको उपभोक्ताहरुले गुनासो गरेका छन । तिहारको किनमेल गर्न अत्तरिया बजारमा आएका दिपेन्द्र भण्डारीले तिहारका सामानको मुख्य अत्याधिक बढेको बताए । ‘तिहारमा पहिलेको भन्दा अतिनै सामानको मुल्य बढेको छ’ उनले भने ‘सामान्य एउटा मालालाई ५०/६० भन्दैछन । ५ रुपैयाँको फोटोलाई ८० भन्दैछन ।’

उनले लक्ष्मी पुजाका लागि आफूले भाडाकुडा, माला, फोटो किनेको बताए । उनले भने ‘यी सबै सामान भारतबाट आएका रहेछन । ब्यपारी पनि भारतीय छन । यिनीहरुले ठगिहाल्छन ।’
तिहारको किनमेल गरिरहेकी देवा रावतले सामानमा अत्याधिक मुल्य बृद्धि भएको बताईन् । ‘पोहोरको भन्दा मुल्यमा दोब्बरले बृद्धि भएको छ’ उनले भनीन् ‘कोरोना महामारीका कारणले हो की किन हो मुल्य बढेको छ ।’

माटोको दिया र कलस बिक्रि गरिरहेका भारतीय व्यपारी श्रवेस गुप्ताले यस बर्ष व्यपार सामान्य रहेको बताए । उनले दिपावलीका लागि दिया र कलस भारतबाट ल्याएको बताए ।
अर्का भारतीय व्यपारी शौरभ गुप्ताले भने यस बर्ष व्यापार कम भएको बताए । उनले अधिकांस सामान भारतबाट आएको र उतैबाटै सामानको मुल्य बढेर आएको बताए । ‘मुमबत्ती, फोटा, डेकोरेसनका सामान बिक्री गरिरहेको छु’ उनले भने ‘अधिकांस सामान भारतबाट आएको छ ।’
दिपावलीका लागि भारतबाट मिठाई ल्याएर बिक्रि गरिरहेकी रानी श्रीवास्तवले आफू तिहारको लागि नेपालमै बस्ने र भारतबाट सामान ल्याएर यतै बिक्री गर्ने गरेको बताईन् ।


















