अत्तरिया – असोज ३१ गतेदेखिको अविरल बर्षा संगै आएको बाढी पहिरोमा परेर बेपत्ता भएका २२ जना अझै भेटिएका छैनन् । बेमौसमी बर्षाका कारण सुदूरपश्चिम प्रदेशमा आएको बाढी पहिरोमा हराएकाहरुको लामो समय सम्म पनि पत्तो लाग्न नसकेको हो ।
बाढी पहिरोमा परि सबैभन्दा बढी बझाङमा १९ जना बेपत्ता भएका छन । ति सबै बझाङको थलारा गाउँपालिका – ४ डिक्ला सितलका रहेका छन । सितलमा आएको परिरोमा परी दुई परिवारका २३ जना वेपत्ता भएका थिए । सो क्षेत्रमा प्रहरीले ५ दिन देखि खोजी कार्य जारी राखेपनि ४ जनाको मात्रै शव फेला परेको छ ।

पहिरोमा ६ बर्षिय आयुस पार्की, ७ बर्षिय विकास सार्की, २९ बर्षिय सिता सार्की र १२ बर्षिय संजिव सार्कीको शव फेला परेपछि हराएका १९ जना भने अझै नभेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हराएका १९ जनामध्ये ११ जना बालबालिका रहेका छन ।
जसमा १ बर्षका सर्मिला सार्की, निकेश सार्की, २ बर्षकी एलिसा सार्की, ४ बर्षिय सिम्जिवि सार्की, ६ बर्षिय सरोज सार्की, भूमिका सार्की, ७ बर्षिय प्रभास सार्की, ८ बर्षिय सिमा पार्की, सुवास सार्की, १० बर्षिय सबिना सार्की र १२ बर्षिय हिमा पार्की रहेका छन ।
त्यस्तै सोही पहिरोमा बेपत्ता हुनेमा २२ बर्षिय मदन सार्की, कलु देवि सार्की, २५ बर्षिय कम्मा सार्की, ३० बर्षिय धनगिरी सार्की, ३५ बर्षिय इश्वरा सार्की, ५० बर्षिय हासु पार्की, ६० बर्षिय हर्क सार्की र ७० बर्षिय उजली पार्की रहेको प्रदेश प्रहरीले जनाएको छ ।
बाढी पहिरोमा परी कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेका ३० बर्षिय गणेश आउजी, बैतडीको डिलासैनी गाउँपालिका – ५ का २९ बर्षिय गोपाल ओड र डोटीको आदर्श गाउँपालिका – ७ का ४८ बर्षिय तुलाराम बिष्ट पनि बेपत्ता भएका थिए । ओड र बिष्ट भने बर्षातको समयमा माछा मार्न गएको बेला नदीमा बगी वेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले हराएकाहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।

यसैबिच सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परि आईतबार सम्म मृत्यु हुनेको संख्या ३७ पुगेको हो ।
बाढीपहिरोमा परी डोटीमा १६ जना, बझाङमा १२ जना, बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा १/१ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै सोही बाढिपहिरोमा परि १७ जना घाइते छन् । जसमध्ये डोटीका ११ जना, डडेल्धुरा, बैतडीका २/२ जना, बझाङ र बाजुराका १/१ जना रहेका छन् ।
अवरुद्ध सडक खुलाउने क्रम जारी
ठूलो धनजनको क्षति हुने गरी आएको बाढीपहिरोका कारण प्रदेशमा दर्जनौ राजमागै र शाखा सडक अवरुद्ध भएका छन । ति मध्ये पहाडी जिल्ला जोड्ने प्रदेशको मुख्य राजमार्ग भीमदत्त राजमार्ग सुचारु भएपनि अन्य सडक भने अझै पनि पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन् ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार डडेल्धुरा–डोटी जोड्ने डा. केआइसिंह राजमार्ग खुलाउने कार्य जारी रहेको छ । डडेल्धुराको अमरगढी नगरपालिका –११ रडुवाखोला र गजरौलाको बिचमा भासिएको १ सय मिटर सडकमा बैकल्पिक बाटो खुलाउने काम जारी रहेको छ । त्यस्तै डोटीका वडा क्षेत्रमा पनि अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरोले अवरुद्ध बनेको बझाङको वित्थडचिर गाउँपालिका – २ पैरा, ,केदारस्यु गाउँपालिका – १ देउरा, नारिगौडा, छविसपाथिभरा गाउपालिका – १ जाली बगर, मौरी बगर, जयपृथ्वी नगरपालिका – ७ काचाली खोलामा अवरुद्ध सडक पनि खुलाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उता दार्चुलाको महाकाली नगरपालिका – ५ किम्तडीमा भासिएको सडक पनि खुलाउने कार्य जारी रहेको जनाइएको छ । बाजुरा जिल्ला जोड्ने सडक पनि खुलाउने कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



















