कञ्चनपुरमा नदी बस्तीमा छिर्नबाट रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै

 

कञ्चनपुर – महाकाली नदी बस्तीमा छिर्नबाट रोक्नका लागि अस्थायी तटबन्ध निर्माण सुरु गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू तटबन्ध निर्माणमा जुटेका छन् ।

maya metro hospital

भीमदत्त नगरपालिका – १२ भुजेल ऐरीघाट क्षेत्रमा तारजालीमा ढुङ्गा राखेर तटबन्ध निर्माण कार्य अगाडि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

‘पहुँच मार्ग तोडेर बस्तीमा छिरेको नदीको बहाव रोक्नका लागि तटबन्ध निर्माणको कार्य भइरहेको छ’ उनले भने, ‘ढुङ्गा, बालुवा, गिट्टी र माटो प्रयोग गरी बिहानैदेखि तटबन्ध निर्माणमा जुटेका छौं ।’

attariya hospital

नदीको थप पानी बस्तीमा छिर्नबाट रोक्न तटबन्ध निर्माणमा जोड दिइन थालेको उनले बताए । तटबन्ध निर्माणको कार्यमा तीन सयभन्दा बढी जवान परिचालन भएका छन् ।

तत्काल बाढीको जोखिमयुक्त क्षेत्रमा सय मिटर तटबन्ध निर्माण गरिन लागेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव घट्न थालेको छ ।

बाढीबाट २ हजार ७ सय ६७ जना विस्थापित

महाकाली नदीको बाढीबाट भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबाट २ हजार ७ सय ६७ जना विस्थापित भएका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार महाकाली नदी बस्तीमा छिरेपछि भीमदत्त नगरपालिकाका १ हजार २ सय ९ र दोधारा चाँदनीका १ हजार ५ सय ८१ जना विस्थापनमा परेका हुन् ।

भीमदत्त नगरपालिकाको वडा नं १२ का ३ सय ८० र वडा नं १३ का  ८ सय २९ जना विस्थापनमा परेका छन् । विस्थापनमा परेका व्यक्तिलाई सुरक्षानिकाय र स्वयंसेवी संस्थाको सहयोगमा नजिकैका विद्यालयमा राखिएको छ ।

भीमदत्त नगरपालिका – १२ का महाकाली नदीको विस्थापनमा परेकामध्ये पूर्णागिरी माध्यमिक विद्यालयमा १ सय ५५ जना, जनता आधारभूत विद्यालयमा ५० जना, भागरथी आधारभूत विद्यालयमा १ सय ७५ जनालाई राखिएको छ ।

यसैगरी भीमदत्त नगरपालिका १३ को सिद्ध माध्यमिक विद्यालयमा ६ सय ९४ जना, वडा कार्यालयमा ९७ जना, सौगात बोर्डिङ स्कुलमा ३८ जनालाई आश्रय दिइएको छ ।

दोधारा चाँदनीका वडा नं ९ र १० का १ हजार ५ सय ११ जनालाई अम्बिका उच्च माध्यमिक विद्यालयमा राखिएको छ । सोही नगरपालिकाको वडा नं ९ मा रहेको नो भ्वाइस बोर्डिङ स्कुलमा ७० जनालाई राखिएको छ ।

स्थानीय तह, संघ संस्थाले विस्थापनमा परेका परिवारलाई खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका छन् । रेडक्रस, निड्स, एनएनएसडब्लुए लगायतका संस्थाले विस्थापनमा परेका परिवारलाई चाउचाउ, बिस्कुट, पानी, च्युरा, मास्क, कम्बल,म्याट लगायतका सामग्री उपलब्ध गराएको जनाएका छन् ।

पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव समेत घटदो छ । डुबानमा परेका क्षेत्रमा भने अझै पानी रहेकाले विस्थापित परिवार घर फर्कन सकेका छैनन् ।

डुबानमा परेका परिवारको लत्ताकपडा, खाद्यान्न लगायतमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने अझै उपलब्ध हुन सकेको छैन ।

महाकाली नदीको पूर्ण बहाव क्षेत्रको आँकलन नगरीकनै संरचना निर्माण गरिँदा बाढी निरन्तर रूपमा बस्ती छिर्ने र क्षति गर्ने कार्य गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ । पानीको बहाव थेग्न नसक्ने गरी संरचना निर्माण गरिँदा क्षति हुदै आएको बताइएको छ । (थाहाखबरबाट)

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.