सुदूरपश्चिममा बाढी पहिरोको बितण्डा : सात जनाको मृत्यु, ५ घाइते, २७ बेपत्ता (मंगलबार साँझसम्मको विवरण)

 

धनगढी –  आईतबारदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर सुदूरपश्चिम प्रदेशमा प्रदेशमा वर्षासँगै आएको बाढीपहिरोमा परी सात जनाको मृत्यु भएको छ ।

maya metro hospital

बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए ।

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन् । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बाढी पहिरोमा परेर डोटीमा २ जना तथा डडेल्धुरामा २ जनाको मृत्यु भएको हो । डोटीमा ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडाको तथा डडेल्धुरामा ३२ वर्षीय विष्णु अवस्थि र ६५ वर्षिया नर्मदा देवी शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital

प्रदेशमा बाढी पहिरोमा परेर ५ जना घाइते भएका छन् । डोटीमा तीन, डडेल्धुरामा दुई जना घाइते भएका छन् ।

डोटीमा बिरबहादुर कुन्जेडा, ३३ वर्षीय बासुदेवी कुन्जेडा, ७ वर्षीय बिन्दा कुन्जेडा तथा डडेल्धुरामा २५ वर्षीय देवकी रावल र ७० वर्षीय ग्रिस रावल घाइते भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पहिरोका कारण बझाङ, डोटी र डडेल्धुरामा गरेर ६ घर भत्किएका छन् । बझाङमा तीन, डोटीमा एक र डडेल्धुरामा दुई घर भत्किएका छन् ।

बाढी, पहिरो र चट्याङ्ग लागेर सुदूरपश्चिममा ५ भैसी, एक गाई, २२ बाख्रा र २२ कुखुरा मरेका छन् भने ३२ बंगुर बेपत्ता भएका छन् ३६ फसेका छन् । बाजुरामा चट्याङ्ग लागेर एक गाई मरेको छ । डोटीमा चार गोरु, चार भैसी र २० बाख्रा, डडेल्धुरामा एक भैसी, एक गोरु, दुई बाख्रा, २२ कुखुरा र लत्ताकपडा पुरिएका छन् । बझाङमा ३२ बंगुर बेपत्ता भएका छन् भने ३६ बंगुर फसेका हुन् ।

उता, बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेको उनले बताए । गगने सार्की भने रोजगारीका लागि भारतमा छन् भने उनका माईला छोरा काले सार्की भने सकुसल रहेको उनले बताए ।

गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा आश्रय लिइरहेका छन् ।

बाढीले सडक अवरुद्ध भएको र सञ्चार सेवा अवरुद्ध हुँदा समयमै खबर नपाएकोले उद्दारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । लगातार पानी परिरहेको र घटनास्थल निकै टाढा भएकाले पुग्न नसकिएको उनले बताए ।

यता, कैलालीमा चार जना बेपत्ता भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु कर्णालीमा माछा मार्न गएको बेला बगेर बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीमा नदीमा बगेर एक अर्का पनि बेपत्ता भएका छन् । कैलालीका ३० वर्षीय गणेश आउजी बगेर बेपत्ता भएको प्रदेश प्रहरीले जनाएको छ ।

उता, सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका–५, ढुङ्गाडमा सेती नदीको छेउमा बस्दै आएका १० परिवारका ६० जना फसेको बताइएको छ ।

गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष रामबहादुर धामीले बस्तीको चारैतिर नदी बगिरहेको र बीचमा ६० जना फसेको बताए । प्रवक्ता धामीले उनीहरुको उद्धारका लागि प्रदेश सरकारसंग छलफल भइरहेको बताए ।

‘ढुङ्गाडस्थित सेती नदीको किनारमा १ सय २० परिवार बस्दै आएका छन्’ उनले भने, ‘अधिकांश बाढीको जोखिम हुने भन्दै राति नै सुरक्षित स्थानमा सरेका छन् । उनीहरुलाई विद्यालयमा राखिएको छ ।’

उनीहरुको उद्धारका लागि वडा नम्बर ८ मा रहेको सिवलिङ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश सिह पालले बताए ।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मुसेट्टिमा महाकाली नदीको टापुमा फसेका ५ जनाको उद्दार गरिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले १५ घण्टापछि उनीहरुको उद्दार गरेको हो । प्रतिकुल मौसमका वाबजुद सेनाको टोलीले बेलुका ५ बजे उद्दार गरेका जर्नेल प्रेम शाहीले बताए ।

कुखुरा फर्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखि फसेका थिए । उनीहरु १५ घण्टा रुखमा बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुष्कर नायक, सुरज नायक, अर्जुन नायक, अशोक नायक र शान्ति नायकको उद्धार गरीएको हो ।

यता, टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै कर्णाली नदीले तटबन्ध भत्काएको छ । स्थानीय युवा भुपेन्द्र साँउदका अनुसार नदीको बाढी गाउँ पसेको छ ।

टीकापुर नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ का दर्जन बढी गाउँमा बाढी पसेको छ ।

वडा नम्बर ९ का अध्यक्ष दीर्घ ठकुल्लाले गाउँमा बाढी पसेपछि त्रासको माहौल सिर्जना भएको बताए । स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने काम भैरहेको उनले बताए । नदीको बाढी शाहीपुर हुँदै सिमरेनी, सत्ती, सूर्यपुर, वनगाँउ, फाँटा हुँदै बग्न थालेको उनले बताए ।

नदीमा पानीको बहाव उच्च भएपछि अन्य थुप्रै ठाउँमा समेत तटबन्ध भत्किने खतरा बढेको छ । कर्णाली नदीमा पानीको वहाव १४.२५ मिटर पुगेको छ । कर्णालीमा १०.५ मिटर पुगे खतरा जनाउँछ ।

उता, महाकालीमा पानीको वहाव ५ लाख ४७ हजार २ सय २४ क्यूसेक पुगेको छ । महाकालीमा चार लाख क्यूसेकसम्म सामान्य मानिन्छ  । महाकाली नदीले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् । जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका घर डुबानमा परेको जनाइएको छ ।

भीमदत्तको ओदाली, ऐरीका करिब एक सय घर र र दोधारा चाँदनीको कुतियाकबर, शान्ती टोल, निसानी टोलका ६० घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए । उनले ब्रह्मदेव बजारदेखि झोलुङ्गे पुलसम्म नदी किनारका बस्तीमा पानी पसे पनि मानवीय क्षति भने नभएको बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.