कोरोनाले थला परेका सुदूरका पर्यटन व्यवसाय तंग्रीदै
धनगढी – कोरोना महामारी शुरु भएयता लामो समयसम्म लकडाउनका कारण निकै प्रभावित भएको पर्यटन व्यवसाय पछिल्लो समय तंग्रीने प्रयासमा छन् । त्यसै पनि सुदूरपश्चिम प्रदेशमा पर्यटन राम्ररी फस्टाउन सकेको छैन । भौतिक पूर्वाधारको कमी छ ।
निकै सम्भावना रहेका पर्यटकीय स्थलहरु हुँदाहुँदै पनि अपेक्षा गरिए अनुसार आन्तरिक र बाह्य पर्यटकहरुको आगमन बृद्धि हुनसकेको छैन । त्यसैमा कोराना महामारी रोकथामका लागि सिमानाका कडाई गरिएकोले भारतीय पर्यटकहरु आउन सकेका छैनन् ।
प्राकृतिक तथा धार्मीक, सांस्कृतिक पर्यटनको निकै सम्भावना रहेको भए पनि सुदूरपश्चिममा अपेक्षा गरिए अनुसार बाह्य पर्यटक भित्र्याउन सकिएको छैन । सडक, सञ्चार, सुविधासम्पन्न होटल, लज लगायतका पूर्वाधारको कमीले राम्ररी फस्टाउन नसकेको सुदूरपश्चिम प्रदेशको पर्यटन कोरोना महामारीका कारण थला नै परेको छ । कोरोना महामारी फैलिएदेखि नै सबैभन्दा प्रभावित रहेको पर्यटन क्षेत्र अहिले तंग्रिने तरखरमा छ ।
कोरोना महामारीको संक्रमण दरमा निकै कमी आएसंगै सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा आन्तरिक पर्यटकको आवागमनमा केही सुधार आए पनि भारत र तेस्रो मुलुकका पर्यटकहरु आगमनमा बृद्धि हुनसकेको छैन । सुदूरपश्चिम प्रदेशमा धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक, ग्रामीण पर्यटनको राम्रो सम्भावना छ ।
तर, एकातर्फ आवश्यक पूर्वाधारको कमी र अर्कोतर्फ आउजाउको सहज वातावरण नहुदा बाह्य पर्यटक भित्रिन नसकेको पर्यटन व्यवसायीहरुको गुनासो छ । नेपाल एसोसिएसन अफ टुर्स एण्ड टाभल्स (नाटा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिम प्रदेशको आर्थिक समुद्धिमा पर्यटन क्षेत्रको राम्रो योगदानको सम्भावना रहे पनि भौतिक पूर्वाधारका साथै सरकारको ठोस नीति नभएका कारण फस्टाउन नसकेको बताए ।
उनले बर्दिया राष्टिय निकुञ्ज भ्रमण गर्न आउने र ठूलो जनसंख्या रहेको भारतको उत्तराञ्चलका पर्यटकहरुलाई मात्रै लक्षित गरेर कार्यक्रम बनाउने हो भने सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताए । उनले प्रदेशको पर्यटन मन्त्रालयले ‘जाउ है सुदूरपश्चिम घुम्न’ जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलमबहादुर बमले पनि पर्यटन विकासमा प्रदेश, संघ सरकार र स्थानीय तहहरुले उचित ध्यान नदिएको बताए । उनको धारणामा सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा तीनै तहका सरकारहरुबीच राम्रो समन्वय छैन ।
कोरोना महामारीको संक्रमणमा निकै कमी आएसंगै व्यापार, व्यवसाय, यातायात, विद्यालय आदि पहिलेकै अवस्थामा फर्किए पनि पर्यटन व्यवसाय र खासगरी होटल व्यवसाय पूर्ववत अवस्थामा आउन नसकेको उनको भनाई छ । सुदूरपश्चिम प्रदेशमा होटल व्यसायमा निकै लगानी रहेको छ ।
कैलालीमा मात्रै होटेल व्यवसायमा १० अर्व रुपैयाँ बढीको लगानी रहेको छ । अध्यक्ष बमका अनुसार कैलालीमा सानाठूला गरी २५ सय बढी होटेल, लज सञ्चालन छन् भने १६ हजार जनाभन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन ईकाई प्रमुख भोजराज पाठकले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, क्षमता अभिवृद्धि, प्राकृतिक तालतलैया संरक्षण, पदमार्ग र भ्यू टावर निर्माणको काम अघि बढिरहेको बताए ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले प्रदेश सरकारले यस वर्षको बजेटमा केही प्रमुख पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन गरेको बताए । उनले चालु आर्थिक वर्षमा केही दुर्गम जिल्लाका पर्यटकीय स्थलहरुमा पर्यटक आवास गृह निर्माणको लक्ष्य रहेको बताए ।
सुदूरपश्चिम प्रदेशमा पर्यटकलाई आकर्षण गर्ने खालका निकै सम्भावना रहेका पर्यटकीय गन्तव्य रहेका छन् । आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याएर समृद्ध सुदूरपश्चिम बनाउन सकिने थुप्रै सम्भावना छन ।
तर, प्रदेश सरकारले वर्षेनी पर्यटन शीर्षकका नाममा स–साना मन्दिरमा मात्रै लगानी गर्दै आएको छ । प्रदेश सरकारले दीर्घकालीन पर्यटन गुरुयोजना बनाएर लागू गर्न आवश्यक देखिन्छ ।