खाेज्नुहाेस

अत्तरिया बसपार्कमा पहाड जाने यात्रुको घुईचो

Image

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा सुदूरपश्चिमका पहाडी जिल्लामा जाने यात्रुहरुको घुईचो लाग्ने गरेको छ । दशैं मनाउन तराई तथा पुर्वी जिल्लाबाट अत्तरिया बसपार्क भएर जाने यात्रुका कारण बसपार्कमा घुईचो लाग्ने गरेको हो ।

विशेष गरेर साँझ र बिहानको समयमा बसपार्कमा निकै भिड हुने गरेको छ । बसपार्कमा यात्रुहरुको भिड बढेपनि सोही अनुसार बिभिन्न यातायात व्यवसायिहरुले अतिरिक्त सवारी साधन समेत थपेका छन ।

attariya hospital

जसले गर्दा सामान्य समयको तुलनामा बसपार्कमा सवारी साधनको समेत चाप बढेको छ । यात्रुहरुकै अनुपातमा सवारी साधनको संख्या पनि थपिएकाले टिकट पाउन भने त्यति समस्या नभएको कञ्चनपुरबाट अछाम गइरहेका जगत बोहराले बताए ।

कृष्णपुरको मौरीफाटामा घर बनाउन आएका बोहराले परिवार संगै दशैं मनाउन अछाम गइरहेको बताए । उनले बसपार्कमा आउने वितिकै सहजै टिकट पाइएको बताए । अछामको बलाता गइरहेका कैलालीको बैनीयाका तुलाराम विश्वकर्माले पनि टिकट पाउन समस्या नभएको बताए । ‘दशैं मनाउन परिवारका ५ जना अछाम गइरहेका छौ’ उनले भने ‘बैनियाबाट अहिले नै आएका थियौ । यहाँ आएपछि टिकट पाइयो ।’

उनले पनि दशैं मनाउनका लागि पहाड गइरहेको बताए । ‘आधा परिवार पहाडमा बस्थ्यौ । आधा तराईमा बस्थ्यौ’ उनले भने ‘दशैमा सबै एकै ठाउँमा भेला भएर दशैं मनाउन पहाड गइरहेका छौ ।’

बझाङ गइरहेका करन गिरीले भने टिकट पाउन निकै समस्या भएको बताए । महेन्द्रनगर बस्ने गिरीले त्यहाँ टिकट नपाएपछि धनगढी आएको बताए । ‘हिजो साँझ महेन्द्रनगरमा टिकट नपाएपछि धनगढी आएको थिए ।

धनगढीबाट पनि टिकट नपाएपछि हिजो धनगढीमै बस्नु प-यो’ उनले भने ‘आज पनि बसको लास्ट सिट पाइयो ।’ उनले दशैंमा देवताको पुजा गर्न पहाड गइरहेको बताए । ‘पहाडमा हाम्रो अष्टमिमा विशेष पुजा हुन्छ’ उनले भने ‘तराइमा बस्ने भएपनि दशैंमा पुजा गर्नकै लागि पहाड जाने गर्छौ ।’

navjiwan hospital

सुदूरपश्चिम यातायात प्रालिको टिकट काउन्टरमा काम गर्ने पदम राज भट्टले दशैंमा यात्रुहरुको अत्याधिक चाप बढेको बताए । उनले यात्रुको चाप बढेपनि आफूहरुले बसहरुको संख्या थपेर यात्रूहरुलाई सहज रुपमा पठाइरहेको बताए । ‘नियमित जाने बसहरुको संख्या भन्दा अहिले तेब्बर बढी बसहरुको संख्या थपिएको छ’ उनले भने ‘बसको संख्या थपिएकाले सबै यात्रुले सहज रुपमा सिट पाइरहेका छन ।’

२८ बर्ष देखि यातायात क्षेत्रमा काम गर्दैै आइरहेको बताउने भट्टले बसहरुको संख्या बढेकाले पहिलेको जस्तो यात्रुलाई टिकट पाउन समस्या नहुने गरेको बताए ।

यसैबिच बसपार्कमा यात्रुहरु सहायताका लागि प्रहरीले पनि यात्रु सहायता कक्ष स्थापना गरेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीले सयुक्त रुपमा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेका छन ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक बामदेव गौतमले सबपार्कमा एउटा ट्राफिक बिट भएपनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष मार्फत थप प्रहरी परिचालन गरिएको बताए ।

‘चाडपर्व लक्षित गरेर यात्रुहरुलाई कुनै समस्या नपरोर, यात्रुबाट बढी भाडा नलिइयोस, कसैको सामान नछुटोस भनेर ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालयबाट प्रहरी रहने गरी यात्रु सहायता कक्षको व्यवस्था गरेका छौ’ उनले भने ‘यात्रु सहायता कक्षमा बिहान ६ बजे देखि साँझ सम्म प्रहरी बस्ने गरेका छन ।’

उनले यात्रु सहायता कक्षबाट हालसम्म सामान छुटेका ५ जना यात्रुलाई सहयोग गरिएको बताए । भाडा बढी लिएको बारेमा भने अहिले सम्म कुनै गुनासो नआएको प्रहरी उपरिक्षक गौतमले बताए ।