अत्तरिया – पछिल्लो समय दशैं धन प्रदर्शन गर्ने पर्व बन्न थालेपछि विपन्न वर्गका लागि यो पर्व ‘तातो दुध निल्नु न उकेल्नु’ जस्तै हुन थालेको छ ।
दशैं आफन्त नातागोता संग सुख, दुःख साटासाट गरेर मनाइनु पर्नेमा हुनेखाने वर्गले खुसिलाई धन संग साट्न थालिएपछि धन नहुँने भने मन पोल्दै धनको खोजीमा हिड्नुपर्ने बाध्यता छ ।
परिवर्तित सामाजमा अरु नसके पनि दशैंमा एक छाक मिठोमसिनो खाने र एकसरो नयाँ लुगाको लागि मात्रै पनि विपन्न वर्गले निकै सघर्ष गर्नुपर्ने अवस्था छ ।

यही सघर्षका एक पात्र हुन शखिराम । दार्चुलाको शैलेशिखर नगरपालिका – ९ का शखिराम महर दशैं खर्च जुटाउन भिख नै माग्नुपर्ने अवस्थामा पुगेका छन । एक खुट्टा गुमाएका शखिराम सडकमा यात्रुहरुबाट भिख मागेर दशै खर्च जुटाउन दार्चुलाबाट कैलालीको अत्तरिया पुगेका छन ।
‘बच्चाको लागि दशैंमा नयाँ लुगा किन्नका लागि माग्न थालेको हु’ उनले भने ‘३ दिन भयो अत्तरियामा माग्न थालेको अझै ३/४ दिन माग्छु । जम्मा भएको पैसाले दशैं खर्च चलाउनु पर्ला ।’ उनले अत्तरिया बसपार्कमा ३ दिन माग्दा २ हजार ५ सय जति जम्मा भएको बताए ।
‘३/४ दिन अरु माग्दा ४/५ हजार जम्मा हुन्छ होला’ उनले भने ‘त्यही पैसाले बच्चा र श्रीमतीका लागि नयाँ लुगा लिएर जान्छु ।’ उनी दिनभरी मागेर साँझ अत्तरियामै रहेका आफन्तको घरमा बस्न जाने गरेको बताउन्छन । सानैमा एक खुट्टा गुमाएका शखिरामका २ छोरा छन ।
‘ढिलो विवाह भएको थियो । अहिले एक छोरा ५ बर्षको छ अर्को डेढ बर्षको छ’ उनले भने ‘श्रीमती सपाङ्ग नै भएपनि घर धन्दाकै काम मात्रै गर्छिन । घरमा कमाउने कोही छैन ।’


उनले बुवाले बनाएको सानो घर भएपनि जग्गा जमिन नभएको बताए । उनले दशैंमा अन्य आयश्रोतको बाटो नदेखेपछि माग्ने काम गरेको बताए ।
‘माग्नुपर्ने बाध्यता छ । लठ्ठिको सहारामा बसहरुमा चढेर यात्रुहरु संग पैसा मागिरहेको छु । कसैले दिन्छन । कसैले दिदैनन्’ उनले भने ‘गत बर्ष पनि मागेर दशै मनाएको थिए । यो बर्ष पनि त्यसै गरी दशैं मनाउने सोचमा छु ।’
उनले आफ्नो क्षमता अनुसारको काम पाएमा भने सडकमा माग्न नआउने बताए । ‘ख बर्गको कार्ड छ । सरकारले भत्ता त दिन्छ त्यसले परिवार पाल्न पुग्दैन । त्यसैले चाडपर्वको समयमा माग्ने गरेको छु’ उनले भने ‘मैले गर्न सक्ने जस्तो केही काम पाए गर्थे । कि भत्ता अलिकती बढाईदिए खान पुग्थो ।’
उनले छोरो ५ बर्षको भएपनि अझै विद्यालय नपठाएको बताए ।
सरकारले हालै ल्याएको प्रतिस्थापन विधेयक मार्फत विपन्न तथा गरिव ५ लाख जनतालाई राहतस्वरुप प्रति घर–परिवार १० हजार नगद दिने घोषणा गरेको भएपनि हालसम्म कार्यान्वय आउन सकेको छैन ।
अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ बाट रोजगारी गुमाएका र अन्य आयआर्जन गर्नबाट वञ्चित जनतालाई दशैंलाई लक्षित गरी एक पटकका लागि १० हजार रुपैयाँ दिने बताएका थिए ।
तर, विपन्नका लागि सरकारको कार्यक्रम घोषणामै सिमित हुँदा शखिराम जस्ता नागरिक दशैं मनाउन भिख माग्नुपर्ने बाध्यता छ ।


















