कञ्चनपुर – तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा लिज तथा बिक्रीमा भएको अनियमितता छानबिनका लागि २ सय जनाको बयान लिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त अनियमितता छानबिनमा २ सय जनाको बयान लिने काम सकिएको जनाएको छ ।
अख्तियार कार्यालय महेन्द्रनगरका प्रवक्ता हरीशचन्द्र जोशीले जमिन लिजमा लिने र खरिद गर्नेदेखि समितिका तत्कालीन पदाधिकारी र कर्मचारीहरूको बयान लिएको बताए । उनले सबैतर्फका गरी दुई सय जतिको बयान लिने काम सकिएकाले अब स्थलगत अनुसन्धान गरिने बताए ।


भदौ अन्तिम साता आएको टोलीले सम्पर्कमा आएका सबै व्यक्तिहरूको बयान लिने काम सम्पन्न गरेको जोशीले बताए । सम्पर्कमा नआएका व्यक्तिको हकमा म्याद दिएर केन्द्रीय कार्यालयमै हाजिर हुन सूचित गरिएको छ । लिजमा जमिन लिने १४४ र खरिद गर्ने ४६ जना गरी तत्कालीन पदाधिकारी र कर्मचारी सबैको बयान लिइएको हो ।
२०३५ मा गठन भएको नगर विकास समितिको जमिन लिज तथा बिक्रीवितरणका क्रममा व्यापक अनियमितता भएको भन्दै आयोगमा उजुरी परेको थियो । उजुरी परेपछि आयोगले उपसचिव ओमप्रकाश बरालको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको थियो ।



















