कञ्चनपुर – कञ्चनपुरका महाकाली प्रादेशिक अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामीको चाप बढेको छ । २ साता यता अस्पतलमा उच्च ज्वरो भएका बालबालिकाको चाप बढ्न थालेको हो ।
अस्पतालका डा. गोविन्द रोकायाले ज्वरो आएका बालबालिकालाई चेकजाँच गर्दा निमोनिया देखिने गरेको बताए । उनले अहिले कोभिडकै निमोनियाको उपचार पद्धति अपनाएर बालबालिकाहरूको उपचार भइरहेको बताए ।


केही दिनयता महाकाली प्रादेशिक अस्पतालमा उच्च ज्वरो, रुघाखोकी र निमोनियालगायत लक्षण भएका बालबालिका बढी आउन थालेका छन । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत बालबालिका रहेको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा दैनिक ५०/६० बिरामीहरू आउने गरेका छन । त्यसमा पनि ३५/४० बालबालिका नै छन । ‘बढीजसो बालबालिकाहरू रातिको समयमा भर्ना हुने गरेका छन्,’ डा. रोकायाले भने, ‘सुरुको अवस्थामा निजी मेडिकलमै उपचार गराउने र जब बालबालिकाहरू थला पर्न थाले त्यसपछि मात्रै अस्पताल ल्याउने गरेका कारण समस्या हुने गरेको छ ।’
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले बालबालिकामा उच्च ज्वरो र रुघाखोकीको समस्या बढी रहेको बताए । उनले अस्पताल आउने अन्य बिरामीमा पनि यो समस्या भएको बढी मात्रामा देखिएको बताए ।
पछिल्लो समय बालबालिकाहरूमा पनि कोरोना संक्रमण देखिन थालेको छ । स्वास्थय कार्यालयका अनुसार साउन २२ यता कञ्चनपुरमा १५ वर्षमुनिका ३६ बालबालिकामा संक्रमण पुष्टि भएको छ ।




















