खाेज्नुहाेस

कैलालीमा दोब्बर बढीले घटे गिद्धका गुँड, कञ्चनपुरमा सात गुणाले बढे

Image

धनगढी – प्रकृतिको कुचीकारको रुपमा रहेका गिद्धको गुँड बिगत १० वर्षमा सुदूरपश्चिमको कैलालीमा दुई गुणा बढीले घटेका भने कञ्चनपुरमा सात गुणाले बढेका छन ।

सन् २०१० मा गणना गर्दा कञ्चनपुरमा चार वटा गिद्धका गुँड फेला परेकोमा पछिल्लो गणना अनुसार सात गुणाले बृद्धि भएर ५६ पुगेको छ ।
सन् २०२१ मा भएको गणना अनुसार कञ्चनपुरमा डंगर गिद्धका ५०, सानो खैरो गिद्धका ४ र सुन गिद्धको एक वटा गुँड फेला परेको छ ।

attariya hospital

चराविद् हिरुलाल डगौराका अनुसार कञ्चनपुरको शुक्लाफाँटामा ४ वटा सुन गिद्ध, तारापुर पोष्टमा डंगर गिद्धको १२, भोजपुरमा १३, बंशामा १०, परशियामा ४ र काञ्जीमा ११ वटा गिद्धका गुँड फेला परेका छन् भने शिखर तालमा १ वटा सुन गिद्धको गुँड फेला परेको छ ।

सन् २०१२ मा कैलालीमा ६८ गिद्धका गुँड फेला परेकोमा सन् २०२१ मा भएको गणनामा २८ वटा मात्र गुँड फेला परेका छन् । पछिल्लो समय फेला परेका सबै गुँड डंगर गिद्धका हुन् । कैलालीको खुटियामा १०, समैजीमा २, पहलमानपुरमा १०, मात्रीभूमीमा ३ र बेलीपटेलामा ३ वटा गिद्धका गुँड फेला परेका हुन् । कैलालीमा सबैभन्दा बढी सन् २०१३ मा ८२ गिद्धका गुँड फेला परेका थिए ।

सो समयमा गोदावरीको खुटिया क्षेत्रमा ५८, धनगढीको बेलीपटेलामा २ र जोशीपुरको बन्जरीयामा १ वटा गिद्धका गुँड फेला परेका थिए । जोशीपुरको बन्जरीयामा फेला परेको गुडँ सेतो गिद्धको थियो भने खुटिया र बेलीपटेला क्षेत्रमा फेला परेको डंगर गिद्धको थियो ।

बैतडीको खोड्पेमा सन् २००९ मा गणना गर्दा ४ वटा हिमाली गिद्धको गँुड फेला परेकोमा पछिल्लो समय गरीएको गणनामा १५ वटा गिद्धका गुँड फेला परेका छन् । सन् २०२१ मा भएको गणनामा बैतडीको खोड्पेमा हिमाली गिद्धका १३ वटा र झलेपानीमा २ वटा हाडफोर गिद्धका गुँड फेला परेको हो ।

पछिल्लो गणना अनुसार प्रदेशका तीन जिल्लामा ४०६ गिद्ध फेला परेका छन् । सोमध्ये सबैभन्दा बढी कञ्चनपुरमा २२३, कैलालीमा १४४ र बैतडीमा ३९ फेला परेका हुन् । कैलालीमा फेला परेका सबै डंगर गिद्ध हुन् । सोमध्ये खुटिया, समैजी, फकलपुर, मात्रीभूमीमा ११९ र बेलीपटेलामा २५ वटा गिद्ध फेला परेका हुन् ।

कञ्चनपुरमा फेला परेकामध्ये ४ वटा सानो खैरो, १ वटा सुन तथा अन्य सबै डंगर गिद्ध हुन् । कञ्चनपुरमा फेला परेकामध्ये सबैभन्दा बढी तारापुर पोष्ट र भोजपरमा १३० गिद्ध फेला परेका हुन् ।
चराविद् हिरुलाल डगौराका अनुसार शिखर तालमा ३, बंशामा २४, परसिया र काञ्जी र २५ शुक्लाफाँटामा २५÷२५ गिद्ध फेला परेका हुन् ।

नेपालमा ९ प्रजातिका गिद्ध पाईने गरेकोमा कैलालीमा ५ प्रजातिका मात्र फेला परेका छन् । डङ्गर, सेतो, हिमाली ग्रिफन, सुन, खैरो, सानो खैरो गिद्ध फेला परेका छन् ।

navjiwan hospital

डंगर गिद्ध सधै देखिने गरेपनि अन्य गिद्धका प्रजातिहरू भने चिसो मौसममा मात्र आउने गरेको चराविद् चौधरीले बताए । नेपालमा सन् २०११ को मार्च महिनामा ९ प्रजातिको गिद्ध फेला परेको थियो । लामो ठूडे गिद्ध नवलपरासीमा फेला परेको थियो ।
संसारमा २३ प्रजातिको गिद्ध पाईने गर्दछन् । अन्टार्टीका र अस्ट्रेलियामा बाहेक सबै ठाउ“मा गिद्ध पाउने गर्छ ।

गिद्ध संरक्षणका लागि वन कार्यालयले सिमलको रुख कटानीमा रोक लगाएको बताएको छ । गिद्ध संरक्षणका लागि नेपालका ६ बढी ठाउँमा शुद्ध आहार केन्द्र स्थापना गरिएका छन् भने पशुचौपायालाई प्रयोग गरीने औषधि डाईक्लोफेनिक बिक्रिवितरणमा रोक लगाएको छ । रहेको गिद्ध संरक्षणकर्ताहरुको भनाई छ ।

सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र बैतडीमा हरेक वर्ष असोज महिनादेखि जेष्ठ महिनासम्म गिद्ध गणना गरीदै आएको चौधरीले बताए ।

‘समग्र प्रदेशमा गिद्धका गुँडको संख्या हेर्दा स्थिर छ’, चौधरीले भने, ‘कैलालीको कुरा गर्दा घटेको देखिएको छ ।’ कैलालीको खुटियामा गुँड घट्नुको कारण गिद्धले गँड बनाउँने अग्ला रुख नासिनु रहेको छ भने बेलीपटेला क्षेत्रमा बाढी पिडीतहरु गिद्धले गुँड बनाउँने रुखको तल नै घर बनाउँदा त्यो क्षेत्र छोडेर बसाई सरेर गएको चौधरीले बताए ।

उनले जोशीपुरका बञ्जरीया क्षेत्रमा एउटा मात्र रहेको सेतो गिद्धको गुँड ३ वर्षदेखि नदेखिएको बताए । सरकारले मुक्त कमैयालाई त्यो क्षेत्रमा बसाउँदा भएको रुख कटानका कारण गुँड नभएपनि कहिलेकाही सेतो गिद्ध भने देखिने गरेको बताए ।

चौकीडाँडामा देखिन थाले गिद्ध

गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित चौकीडाँडा सामुदायिक वन क्षेत्रमा गौशाला सञ्चालनमा आएपछि सो क्षेत्रमा गिद्ध देखिन थालेका छन् । २ वर्षअघि सञ्चालनमा आएको गौशालामा पछिल्लो एक वर्ष यता गिद्ध देखिन थालेका हुन् ।

गौशालाका हेरालु गणेश सार्कीका अनुसार गौशाला वरपर जाडो मौसममा डेढ सय बढी र गर्मी मौसम सुरु भएपछि ६० जति गिद्ध देखिने गरेको बताए । ‘गौशाला सञ्चालन गरेको २ वर्ष जति भयो । एक वर्ष देखि गिद्ध देखिन थालेका छन्’, गणेश सार्कीले भने, जाडोमा डेढ सय बढी गिद्ध देखिन्थे, गर्मी सुरु भएपछि ६० जति देखिएका छन् ।’