धनगढी – सुदूरपश्चिममा प्रदेश सरकार विस्तारका तयारी थालिएको छ । भदौ २२ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएपछि दुई मन्त्री पद खालि रहेका छन ।
मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलो चरणमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गर्ने तयारी थालेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा एकीकृत समाजवादीमा गएका तारा लामा तामाङलाई ल्याउने तयारी भइरहेको छ ।


तामाङ एमालेका पूर्वप्रमुख सचेतक थिए । ‘सकेसम्म सहमतिकै आधारमा कसैलाई हामी सिफारिस गर्छौ ’नेकपा एसका एक सांसदले भने ‘तामाङ नै मन्त्री हुने सम्भावना बढी छ । ’
तर, कञ्चनपुरकै सांसद प्रकाश रावलले पनि अर्थमन्त्रीमा दाबी गरेको बुझिएको छ । सहमतिको आधारमा मन्त्री टुङ्गो लगाइने प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।
‘मुख्यमन्त्री डोटी हुनुहुन्छ चाँडै फर्कनु भयो भने आजै मन्त्री नियुक्ति हुन सक्छ’ मुख्यमन्त्रीको सचिवालयले भन्यो ‘तामाङ नै मन्त्री बन्ने सम्भावना बढी छ ।’

















