धनगढी – मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडाले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई सम्मान प्रदान गरेका हुन् ।


१५ औं मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय दिवसको अवसर पारेर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै सर्वोत्कृष्ट जिल्ला घोषणा गर्दै सम्मानित गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक बर्षमा मानव बेचबिखन तथा ओसार पसार कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानब बेचबिखनका साथै जबरजस्तीकरणीमा मुद्धा चलाइएको थियो ।
सो अबधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ बर्षीय बालिकालाई भारतको बैंग्लोरबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराई दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो भने ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १ सय २६ जनालाई सीमा नाकाबाट उद्दार गरी परिवारमा फर्काएको थियो । यस्तै, ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई अलपत्र अवस्थामा फेलापारी उनीहरुको परिवारसंग पुर्नमिलन गराएको थियो ।
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको कैलाली प्रहरीले शान्ति पुर्नस्थापना गृह, माईती नेपाल लगायतका संस्थाहरुसंग समन्वय गरी सीमा निगरानी, उद्दार, राहत, निशुल्क कानुनी परामर्श, जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलन जस्ता सेवाहरु प्रदान गर्दै आइरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
उनले भने, ‘सम्मान, हौसला र थप उर्जा प्रदान गर्नु भएकोमा कैलाली प्रहरी परिवारको तर्फबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सम्बन्धित संघ सस्था र महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।’

















