जनकपुर – नेपाल सद्भावना पार्टी र राष्ट्रवादी पार्टीबीच एकीकरण भएको छ । एकीकृत नयाँ पार्टीको नाम ‘नेपाल सद्भावना पार्टी’ रहने छ भने पार्टीको झण्डा, चुनाव चिन्ह र छाप नेपाल सद्भावना पार्टीले प्रयोग गर्दै आएको हुनेछ ।
नेपाल सद्भावना पार्टी र राष्ट्रवादी पार्टीका प्रतिनिधिहरू बीच शनिबार संयुक्त बैठक सम्पन्न भई जनकपुर धाममा एक कार्यक्रमको आयोजना गरी पार्टी एकीकरण गरिएको हो ।


पार्टी एकीकरण समारोहमा बोल्दै तत्कालीन राष्ट्रवादी पार्टीका केन्द्रीय अध्यक्ष सहजाद मिया मिक्रानीले देश र जनताको विकासका लागि आफूहरूले पार्टी एकीकरण गरेको बताए ।
परम्परागत राजनैतिक शक्तिको विकल्पमा विचार, संगठन र कार्यपद्धतिको दृष्टिले अग्रगामी, लोकतान्त्रिक ढंगको राजनैतिक शक्तिको रूपमा नेपाल सद्भावना पार्टीलाई पुनःनिर्माण गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै आफूहरूले दुबै पार्टीलाई एउटै शक्तिमा समाहित गर्न सहमति गरेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले मधेशी, आदिवासी, जनजाती, थारु, मुस्लिम, दलित, पिछडावर्गलगायत सबै उत्पीडित समुदायहरूको आवश्यकतापूर्तिका लागि दुबै पार्टी एक भएको धारणा राखे ।



















