काठमाण्डौं – पछिल्लो ८० दिनमा देशका बिभिन्न ठाउँमा बाढी–पहिरोबाट दैनिक एक जना भन्दा बढीको मृत्यु भएको पाइएको छ । मुलुकका बिभिन्न जिल्लामा जेठ ३० गतेपछि आएको बाढीपहिरो र डुबानमा परी सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
मनसुनजन्य विपद्बाट गत जेठ ३० गतेदेखि भदौ १८ गतेसम्मको ८० दिनको समयमा ११६ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

साढे दुई महिना भन्दा बढीको यो अवधिमा मृत्यु भएकाहरुमध्ये सबै भन्दा बढी पुरुष छन् । मृत्यु भएकामध्ये ५३ जना पुरुष छन् । यसैगरी मृत्यु हुनेमा ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेको प्रहरीले जनाएको छ ।
बाढी–पहिरोबाट सिन्धुपाल्चोक, बाजुरा, गोरखा, पाल्पा, डोटी, दार्चुला जुम्ला, अर्घाखाँची, कास्की, काभ्रेसहितका जिल्लामा धेरै जनाको मृत्यु भएको छ ।

बाढीपहिरो र डुबानमा परी योबीचमा १ सय ३६ जना घाइते भएका छन् । तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् ।
प्रहरीका अनुसार यो वर्ष बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेका छन् ।
यसैगरी बाढीको कारण ३ हजार १ सय ८२ वटा घर डुबानमा परेका छन् । ९ सय ७८ वटा घर, १ सय ६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ३ सय ३ वटा पशु चौपायाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ ।
८० दिनको अवधिमा भएका जम्मा एक हजार ३४५ वटा विपद्का घटनाबाट एक हजार २६९ वटा घर परिवारका ६ हजार १ सय ११ जना मानिस विस्थापित भएको प्रहरीले जनाएको छ ।
नेपालमा बाढी–पहिरोबाट पछिल्लो १० वर्षमा करिब दुई हजार जनाको मृत्यु भएको आँकडा छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार ०६८ देखि ०७७ सम्म बाढी–पहिरोबाट १८९६ जनाले ज्यान गुमाएका छन् ।
















