धनगढी – ३३ वर्षदेखि बेपत्ता कैलालीका लोकेन्द्र भनिने लोकुन डगौरा (६२) लाई कैलाली प्रहरीले पारिवारिक पुनर्मिलन गराएको छ । ३३ वर्षअघि कामको सिलसिलामा भारतको सिमला गएका बेलादेखि बेपत्ता उनलाई कैलाली प्रहरीको संक्रियतामा उद्धार गरेर लोकुनका छोरा रामबहादुर डगौरा (३८) को जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले अबिर लगाएर खादा ओढाइ लोकुनका छोरा रामबहादुरलाई हस्तान्तरण गरे । ३३ वर्षपछि बाबा संग भेटभएपछि जानकी गाउँपालिका–७ टिकली गढका छोरा रामबहादुरसंगै परिवार नै हर्षित भएका छन् ।

‘३÷४ बर्षको हुँदा बाबा कामको सिलसिलामा भारत जानु भएको थियो त्यसपछि फर्कनु भएन’ छोरा रामबहादुरले भने, ‘मैले त सोचेकै थिएन, बाबासंग भेट हुन्छ भनेर ।’ उनले भने, म आज ज्यादै खुशी भएको छु यसका लागि कैलाली प्रहरीलाई धन्यवाद दिन चाहन्छु । उनीसंग उनका बहिनी जो बाबा भारत जाँदा जन्मेकी समेत थिइनन् उनले पनि पहिलो पटक बाबालाई जिल्ला प्रहरी कार्यालय भेटेपछि ज्यादै खुशी भएको बताइन् ।


यसरी सम्भव भयो पारिवारीक पुनर्मिलन
भारतका संदिप यादवले भदौ ९ गते बेलुका ६ बजेतिर भारत गयास्थित नेशनल हाईवेमा लोकुनलाई फेला पारी घर लगे । उनले घरमा राखेर सोधपुछ गरेपछि नेपालमा सम्पर्क गरे । तर, लोकुन १० गते बिहान घरबाट निस्किएर हिडेपछि पुनः खोजेर घर लगेर गए ।
उता, भदौ ९ गते नै प्रहरी परिसर काठमाण्डौका प्रहरी वरीष्ठ उपरीक्षक अशोक सिंहले गृह मन्त्रालय मार्फत लोकेन्द्र भनिने लोकुन डगौरा भारतमा फेला परेको र निजले ठेगाना कैलाली जिल्ला बताएको खबर प्राप्त गर्ने बित्तिकै कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले फेला पार्ने भारत बिहार राज्य गया जिल्ला बाराचट्टीका सन्दिप यादव मार्फत लोकुन डगौरासंग सम्पर्क स्थापित गरे ।
उनले लोकुनसंग भिडियो कल मार्फत कुरा गर्दा कैलाली मुनुवा हो भन्ने बताएपछि फोटो सहित घर तथा आफन्त पत्ता लगाउन ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी परिचालन गरे ।
घर ठेगाना र आफन्तको एकिन भएपछि लोकुनलाई भारतीय प्रहरी र संदिप यादवको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइयो । लोकुनका छोरा र प्रहरी टोली पठाएर लोकुनलाई कैलाली ल्याइएर पारिवारीक पुनर्मिलन गराइएको हो ।
लामो समयदेखि भारतमा बेपत्ता लोकुनले नेपाली बोल्न बिर्सिएका छन् भने सबै कुरा स्मरण र अभिव्यक्ति गर्न सक्ने अवस्थामा छैनन् । उनका छोरा रामबहादुरले घर लगेर नेपाली र मातृभाषा बोल्न सिकाउँने बताए ।

















