अछाम – मंगलसेन नगरपालिका–५ का २३ वर्षीय दुर्गा खनाललाई एन्टिजेन विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो । उनलाई ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा गल्ने र खोकी लाग्ने समस्या थियो ।
उनलाई यस्ता लक्षण देखा परेको ३ दिनपछि आमा र भाइलाई पनि उस्तै लक्षण देखिए । तर दुवैले परीक्षण गराएनन । ‘त्यति धेरै गाह्रो थिएन, शंका लागेर एन्टिजेन परीक्षण गराएको हुँ,’ उनले भने, ‘हामी परिवारका सबैजना सँगै थियौं । आमा र भाइलाई केही दिनसम्म गाह्रो भयो । परीक्षण नगरी निको भए जस्तो लाग्छ ।’

गाउँमा आफूलाई जस्तै लक्षण धेरै जनालाई देखिएको तर सबै जना परीक्षणको पहुँचमा नभएको उनको भनाइ छ । अधिकांश ग्रामीण क्षेत्रमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण भएका बिरामीहरू बढिरहेका छन् तर परीक्षणमा चासो नदिँदा संक्रमणले भयावह स्थिति ल्याउन सक्ने देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन ।
मंगलसेन–७ की ३३ वर्षीया महिलालाई ५ दिनअघि कोरोना संक्रमण पुष्टि भयो । तर संस्थागत आइसोलेसन नहुँदा परिवारसँगै घरमा बससरहेको उनले सुनाइन ।
‘ठूल्ठूला घर भएकालाई पो होम आइसोलेसनमा बस्न सजिलो छ । सानो घर छ । एउटै धारा, एउटै शौचालय प्रयोग गर्नै पर्छ । जति अलग्गै बस्छु भने पनि आफ्नो परिवारभित्र दूरी कायम गराउन सकिएको छैन,’ उनले भनिन्, ‘गाउँमा बसेका कतिपय संक्रमित जंगलमा शौच गर्न जान्छन । यसले समाजमा अर्को महामारी फैलिने डर छ ।’

होम आइसोलेसन भनेर परिवारसँंगै बस्दा उनीहरूबाट गाउँमा संक्रमण फैलिएको उनको बुझाइ छ । ‘कतिपय कोरोना संक्रमितलाई लक्षण छैन । तर उनीहरूका परिवारलाई भने छ,’ उनले भनिन्, ‘परीक्षण ग-यो भने गाउँमा धेरैजसोलाई संक्रमण देखिन्छ ।’
कम्तिमा लक्षण देखिएका व्यक्तिको परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने उनको भनाइ छ । ‘घरघरमा संक्रमित छन । तर उनीहरूलाई परीक्षण गर्ने बारे केही थाहा छैन,’ ति महिलाले भनिन्, ‘संक्रमितको अवस्था के छ भनेर कसैले सोध्दैनन । परीक्षण झन् कसले गर्छ र ।’
मंगलसेन नगरपालिका–५ की ६५ वर्षीया वृद्धालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण छ । तर उनलाई कहाँ गएर जाँच गर्ने भन्नेबारे जानकारी छैन । ‘पहिले पहिले ज्वरो आउँदा, रुघा लाग्दा केही डर हुँदैन थियो । तर अहिले कोरोना लाग्यो की जस्तो लाग्छ । तर चेक गराउन कहाँ जानु पर्छ भन्ने मलाई थाहा छैन,’ उनले भनिन ।
जिल्ला अस्पतालमा यस्ता लक्षण भएका दिनमा १ सय २० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालकी सूचना अधिकारी गंगा बुढा मगरले जानकारी दिइन ।
‘धेरैजसो कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण भएका बिरामी धेरै आइरहेका हुन्छन । बिरामीको अवस्था हेरेर एन्टिजेन विधिबाट परीक्षण गर्छौं,’ उनले भनिन्, ‘तर धेरैले परीक्षण गर्नै मान्दैनन । अस्पतालमा भने बिरामी आइरहन्छन ।’
संक्रमण भए परिवार र समाजबाट उपेक्षा सहनुपर्ने भन्दै धेरै बिरामी परीक्षणबाट पन्छिने गरेको उनले बताइन । यसपटक स्थानीय तह तथा अन्य सरोकारवालाले सामुदायिक आइसोलेसनको समेत व्यवस्था नगर्दा सबै संक्रमित घरमै बसिरहेका छन ।
तर गाउँघरका घरमा आवश्यक स्वास्थ्य सतर्कता अपनाउन नसकिने हुँदा परिवार र समाजमा संक्रमण विस्तार भइरहेको छ । (कान्तिपुरबाट)



















