अभागी अत्तरिया चोक
अत्तरिया – २०७४ जेठ महिनाबाट कैलालीको अत्तरिया–मोहना ६ लेन सडकको निर्माण काम सुरु भयो । अत्तरिया देखि नै ६ लेन सडक निर्माण गरिने भनिएकाले अत्तरिया क्षेत्रका बासिन्दा निकै खुसि थिए । सवारी आवतजावतमा सहज हुने आश थियो ।
ढिलो गरी काम भएपनि ६ लेन सडकको कालोपत्रेको काम सकियो तर, चोक भने झन कुरुप बन्यो । ६ लेन सडकको काम चोक देखि करिब ५० मिटर अगाडिबाट सुरु गरियो । तत्कालीन समयमा ६ लेनमा प्रवेश गर्ने चोकको २ लेनको कालोपत्रे बाटो फुटाएर माथिबाट ग्राभेल हालियो ।
६ लेन सडकको निर्माण गर्दा चोक समेटिएन । तर, चोक भन्दा करिब ५० सेन्टिमिटर उँचो हुने गरी ६ लेन सडक निर्माण गरियो । जसले गर्दा चोकको पानी निकास हुने नाला थुनियो र बर्सातको समयमा चोक डुबानमा पर्न थाल्यो ।
डुबानमा परेपछि चोकको कालोपत्रे फुट्न गयो र, त्यसपछि चोक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन थाल्यो । यो नियति अत्तरिया चोकले भोग्न थालेको करिब २ वर्ष पुगिसकेको छ ।
सो अवधिमा चोक कुरूप मात्रै बनेको छैन यस क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी, पैदल यात्रा गर्ने यात्री र सवारी चालकले निकै सास्ती खेपेका छन ।
पटक–पटक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चामा आउने चोक मर्मतका लागि नेताहरूले आश्वासन दिने काममा पनि कमी राखेनन् । तर, बोली अनुसारको व्यवहार नहुँदा लामो समय सम्म चोक बन्न सकेन ।
चर्को दवाव पछि सडक डिभिजन कार्यालय महेन्द्रनगरले चोक मर्मतको प्रक्रिया अगाडि बढायो । र, चोक मर्मतको काम बैशाख पहिला साता बाट गर्ने भनेर भुवन निर्माण सेवा प्रालि धनगढी संग ९० लाखमा सझौता भयो । तर, लगतै कोरोना महामारी बढेपछि काम सुरु नै हुन सकेन । त्यसपछि असार समान्त भित्र सक्नुपर्ने काम कोरोना महामारीका कारण जेठ अन्तिम साताबाट मात्रै सुरु भयो ।
लामो समयको प्रतिक्षापछि चोक मर्मत हुन थालेपछि यस क्षेत्रमा स्थानीय निकै खुसी भएका थिए । चोक चाडै धुलो र हिलोमुक्त हुने आशा बोकेका यस क्षेत्रका नागरिक अहिले भने फेरी निरास बनेका छन । १ महिना भित्रै मर्मत गरिने भनिएकाले चोक लगातारको बर्सातका कारण कालोपत्रे गर्न नमिल्ने भन्दै काम रोकिएपछि स्थानीयले पुन पुरानै सास्ती भोग्न बाध्य भएका हुन ।
अहिले चोकमा ग्राभेल भरान पछि सडकमा पानी जम्ने समस्या कम भएपनि कालोपत्रे नहुँदा अझै पनि हिलाम्मे र धुलाम्मे र धुलाम्मे हुने पुरानै समस्या उस्तै छ ।
असार मसान्त भित्र सक्ने भनिएको कालोपत्रेको काम साउन महिना सकिनै लाग्दा पनि सुरु हुन सकेको छैन । ‘हामीले असार मसान्त भित्रै कालोपत्रे गर्ने योजना बनाएका थियौ । तर, मौसमले साथ दिएको छैन’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले भने ‘कालोपत्रे गर्नका लागि कम्तिमा एक साता लगातार घाम लागेको हुनुपर्छ । नत्र सडकको गुणस्तर बिग्रने भएकाले चाडै कालोपत्रे फुट्ने सम्भावना हुन्छ ।’
उनले ठेकेदारको म्याद पनि असार मसान्तमै सकिएको भएपनि हर्जाना तिराएर भएपनि काम सम्पन्न गरिने बताए ।
मौसमले साथ नदिदाँ कालोपत्रे हुन नसकेको भनिएकाले चोक कहिले कालोपत्रे हुन्छ भन्ने अनिश्चित छ । मौसम अनुसार बदलिने सडक मर्मतका लागि अहिले अनुकुल मौसमलाई नै कुर्नपर्ने बाध्यता छ ।
पार्कमा पनि उस्तै समस्या
चोक वरपरको राजमार्ग फुटेर कुरूप मात्रै बनेको छैन चोक भित्र निर्माण गरिएको पार्क पनि अस्तव्यस्त छ । पार्कमा व्यवसायीक प्रयोजनका होडिङबोर्ड, व्यानर, पम्पलेट राखेर कुरूप बनाइएको छ ।
पार्क निर्माण गर्ने समयमा बिचमा राजा महेन्द्रको शालीक राखेर वरिवरी हरियाली बनाइएको थियो । तर, सशस्त्र द्धन्द्धकालमा शालीक भाचिएपछि चोकको बिचमा अहिले शालीक राख्ने स्तुप मात्रै बाकी रहेको छ । चोकको बिचमा ठूलो झुत्रो परेको बिलबोर्ड राखिएको छ भने सडकबाट उड्ने धुलोले सुख्खा मौसममा पार्क धुस्रोफुस्रो हुने गरेको छ ।
यसरी समस्या नै समस्यामा गुज्रिएको यो अभागी चोक र यस क्षेत्रका नागरिकको भाग्य कहिले फेरिन्छ अझै टुङ्गो छैन ।