रमेश बहादुर सिह/बझाङ – बझाङको जयपृथ्वी नगरपालिका – ६ मा तालाबन्दी गरिएको छ । गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई नभएको भन्दै स्थानिय युवाहरु संगठित भइ सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
उनीहरुले वडामा आएको बजेट रकमान्तर गरी दुरुपयोग भएको, गत आर्थिक वर्षको वडाले सार्वजनिक सुनुवाई नगरेको र बजेट रकमान्तर गरि सहकारीमा लगानी गरेको आरोप लगाएका छन ।


तालाबन्दीमा सहभागि स्थानीय देबेन्द्रबहादुर सिंहले वडा कार्यालयले आमधारा कृषि सहकारीको जीपमा लगानी गरेको बजेट फिर्ता गर्नु पर्ने, वडाको सार्वजनिक सुनुवाई गरिनुपर्ने र आगजनी भएको सहकारीको जीप चाडो सञ्चालनमा ल्याउनुपर्ने, दोषीलाई चाडोभन्दा चाडो कार्वाहीको दायरामा ल्याउनु पर्ने लगायतका मागहरु राख्दै युवाहरुले वडा कार्यालय तालाबन्दी गरेको जानकारी दिए । उनले वडाको सार्वजनिक सुनुवाई नभएसम्म ताला नखोल्ने बताए ।
पटक–पटक वडाको सार्वजनिक सुनुवाईको माग राख्दा समेत वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले अटेर गर्दे आएको स्थानीयको गुनासो छ ।
गाउँमा सेवा दिदै आएको एकमात्र आमधारा कृषि सहकारीको जीप सहकारीका पदाधिकारीले अन्य गाउँका व्यक्तिलाई भाडामा दिने निर्णय गरेपछि एक साता अघि अज्ञात समुहले उक्त सहकारीको जिपमा आगजनी गरेका थिए ।
जीपमा आगजनी भएपछि गाउँमा खाद्यान्न लगायतका समानहरु ढुवानी गर्ने असहज भएको भन्दै सहकारीको जीप छिटो सञ्चालनमा ल्याउनुपर्ने युवाहरुले माग गरेका छन ।
वडा कार्यालयले गाउँमा बिजुली बत्तीको लागि आएको केही रकम पनि सहकारीको जिपमा लगानी गरेको तर सहकारीको जीपले चर्को भाडा असुल्दै गाउँमा सेवा दिइरहेको समेत युवाहरुको गुनासो छ । उता सहकारीको जीपमा आगजनी गर्ने व्यक्तिको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

















