दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली सोमबार दार्चुला जाँदै छ ।
छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आईतबार दार्चुला प्रस्थान गर्न लागेको हो ।


भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए ।
सहसचिव गौतमको संयोजकत्वमा गठित छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

















