खाेज्नुहाेस

सुदूरपश्चिममा पहिलो मगर होमस्टे सञ्चालनको तयारी

Image

धनगढी – प्रसिद्ध धाम बडीकेदारको नामबाट नामारकण गरिएको डोटीको बडीकेदार गाउँपालिकामा होमस्टेको तयारी गरिएको छ । मगर समुदायको बाक्लो बसोबास भएको गाउँपालिकाको वडा नम्बर २ मा गर्बुजा–खरहर होमस्टे सञ्चालनको तयारी गरिएको हो ।

मगर समुदायको मात्रै बसोबास भएको खरहर सडेखानलाई समेटेर सो समुदायका बासिन्दाले ‘गर्बुजा–खरहर मगर गाउँ होम स्टे’को तयारीमा जुटेका छन् ।

attariya hospital

मगर समुदायको एक भेलाले प्रस्तावित होमस्टे सञ्चालकको अध्यक्षमा बडीकेदार गाउँपालिका–२ सडेखानकी दिलसरी लामिछाने मगरको अध्यक्षतामा समिति गठन गरेर प्रक्रिया अगाडि बढाएका छन् ।

प्रस्तावित समितिका अध्यक्ष दिलसरी लामिछाने मगरले गाउँपालिकाको वडा नम्बर २ मा पर्ने गर्बुजा, खरहर, सडेखान, कुडी, तिलाडी, नवलकुडी, बसेल, खारा, चर्केन, कालामाटी, बट्टोमारे, केरेनी टोल समेटेर ‘गर्बुजा–खरहर मगर गाउँ होमस्टे’ दर्ता प्रक्रिया अगाडि बढाएको बताइन् ।

होमस्टे सञ्चालन भएपछि आउँने पाहुनालाई स्थानीय जातको धानको भात, मकैका परिकार, लोकल कुखुराको मासुका साथै ठूली गाडको माछाको परिकारसंगै लोकल मदिराले स्वागत गर्ने सोच बनाएका छौं अध्यक्ष दिलसराले भनिन्, कला र संस्कृतिका धनी हामी मगर समुदायको लोक संस्कृति मारुनी, कौह, सोरठी, नचरी, झोरा, सालैजो नृत्युले मनोरञ्जन दिन्छौ ।

navjiwan hospital

मगर समुदायको लोप हुन लागेको भेषभूषा, कला, संस्कृति तथा खानपानलाई व्यवसायीकरण गर्ने उदेश्यले सो क्षेत्रमा बसोबास गर्ने मगर समुदायले होमस्टे सञ्चालनको तयारी गरेको बडीकेदार गाउँपालिका–२ नवलकुडीका खगेन्द्र लामिछाने मगरले बताए ।

होमस्टे सञ्चालन भएको ठाउँमा ठूली गाड बगेको छ खगेन्द्र लामिछानेले भने, ‘ठूली गाडमा पाईने माछाको स्वाद अत्यन्त मिठो छ । गर्मी मौसममा पौडी खेल्दै माछाको स्वाद लिन पाइन्छ । पुरानो इतिहास बोकेको हात्ती आकारको ढुङ्गा नदीमा छ । पर्यटकीय दृष्टिले होमस्टे उपयुक्त छ ।’

होमस्टेले मगर समुदायको पहिचान सहित बाह्य तथा आन्तरिक पर्यटकहरुलाई मगर समुदायको ईतिहास र सस्कृतीका बारेमा समेत जानकारी गराउने स्थानीय शिक्षक चन्द्र लामिछाने मगरले बताए । हाम्रो लागि होमस्टे संचालन गर्न चुनौती छ उनले भने, खरहर गर्बुजा पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण र सम्भावना बोकेको क्षेत्र भएकाले हामी सफल हुन्छौ ।’

होमस्टेका कल्पनाकार स्थानीय केशव बमले बाक्लो उपस्थिती रहेका मगर समुदायको कला, संस्कृति, खानपानलाई जगेर्ना गर्ने उदेश्यले होमस्टे सञ्चालनको तयारीमा आफुले सहयोग गरेको बताए । उनले डोटी र कैलालीको बिचबाट बग्ने ठूली गाडको माछाको स्वादका साथै नदीको बिचमा रहेको हात्ती आकारको ढुङ्गालाई सेल्फी ढुङ्गाको रुपमा निर्माण गरेर पर्यटकलाई मनोरञ्जन गर्न वातावरण सिर्जना गर्ने बताए ।

उनले सुक्खा मौसमा गाडीबाटै पुग्न सकिने र बर्खामा गर्बुजासम्म गाडीमा गएर केही समय पैदल यात्रा गरेर होमस्टेमा पुग्न सकिने बताए । उनले बिपीनगरसम्म गाडीमा गएर ठूली गाडको तिरैतिर पैदल पनि होमस्टेमा पुग्न सकिने बताए ।

सुदूरपश्चिम प्रदेशमा हाल १३ वटा होमस्टे सञ्चालनमा रहेका छन् । सबैभन्दा बढी कैलालीमा ५ वटा होमस्टे सञ्चालनमा रहेका छन् । कञ्चनपुर र बैतडीमा २÷२ वटा, बझाङ्ग, अछाम, डोटी, डडेल्धुरामा एक÷एक वटा होमस्टे सञ्चालनमा रहेका छन् ।

सञ्चालनमा रहेकामध्ये कैलालीको भादागाउँ सामुदायिक होमस्टे र माघी होमस्टे पर्यटन तथा कञ्चनपुरमा राना थारु होमस्टे कोहलपुरद्धारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा दर्ता भएका हुन् भने विजयसाल, सुशिला, बसन्ता करिडोर थारु होमस्टे, मुनाल कृषि तथा पर्यटन होमस्टे, बसेरा थारु होमस्टे, डोटेली होमस्टे, खप्तड होमस्टे, बिस्ना होमस्टे, नुक्लिपुर होमस्टे र कैलासवेशी एग्रो होमस्टे सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा दर्ता भएका छन् ।