काठमाण्डौ – भक्तपुरको सूर्यविनायक जङ्गलमा मानव कंकाल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कंकाल फेला परेको हो ।
घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको, सोही रुखमुनि मानव कङ्काल फेला परेको जनाएको छ ।


त्यसैगरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो लागेको कपडा यत्रतत्र छरिएर रहेको अवस्थामा कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
प्रहरीले हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । प्रहरी घटनास्थलबाट रातो रङ्गको म्याजिक चप्पल एक जोर, एडिड्यास लेखेको कालो ट्राउजर, कालो हुक, आधा बाहुला भएको सेतो टिर्सटसमेत बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए ।
रासस


















