धनगढी – प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले विज्ञापन खोल्ने तयारी गरेको छ । आवश्यक कानुनहरुको निर्माण गरिएसंगै प्रदेशभित्र रिक्त दरबन्दीको लागि विज्ञापन खोल्ने तयारी गरिएको हो ।
प्रदेश लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले साउन १५ गतेभित्र प्रदेशमा रिक्त पदहरुको बिवरण संकलन गरिने र, लगतै पदपुर्तीका लागि विज्ञापन आह्वान गरिने बताए ।


उनले रिक्त पदको विवरण बुझाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्याललाई आग्रह गरिसकेको बताए । विवरण आइपुगे भदौ पहिलो हप्तासम्म बिज्ञापन गरिसक्ने लक्ष्यका साथ काम भैरहेको सचिव बिष्टले बताए ।
प्रदेश लोकसेवा आयोग नियमावली २०७८, प्रदेश लोकसेवा आयोग कार्यसञ्चालन निर्देशिका २०७८, लोकसेवा आयोगका पदाधिकारी, बिषयबिज्ञ र बिशेषज्ञ एवम कर्मचारीको आचारसंहिता र प्रदेश लोकसेवा आयोगको परिक्षा दस्तुर एवम खर्च व्यवस्थापन मापदण्ड २०७८ स्वीकृत भैसकेपछि आयोगले पदपुर्तिको प्रकृया शुरु गर्न लागेको हो ।















