काठमाडौँ – एमाले नेताहरुले सांसद भीम रावललाई घोषित राजीनामा फिर्ता लिन दबाब दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीका साथै पार्टीका अरु नेताहरुले पनि उनलाई आइतबार बुझाएको राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।
सांसद डा. भीम रावललाई सांसद पदबाट राजीनामा दिन गरेको घोषणा फिर्ता लिन ओलीले सोमबार बसेको आफू पक्षीय केन्द्रीय कमिटिको बैठकमा गरेका हुन् ।


आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषय पार्टीभित्रको आफ्नै समूहमा मतभेद भएपछि रावलले राजीनामा दिने निर्णय गरेका थिए । मिडियालाई जानकारी गराएर सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका थिए ।
तर उनको राजीनामा पत्रबारे सभामुख सापकोटा र संसद सचिवालयले कुनै जानकारी गराएको छैन । रावलले राजीनामा पत्र बुझाए पनि त्यसलाई फिर्ता गराउने पक्षमा उनकै पार्टीका नेताहरु लागेका छन् ।
आवेशमा आएर राजीनामा दिएकाले त्यसलाई रोक्नुपर्ने भन्दै एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएका छन् । आइतबार पनि नेता सुरेन्द्र पाण्डे, झपड रावललगायतले अन्तिम समयसम्म रोक्ने प्रयास गरेका थिए ।

















